
गरुडा,२५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रौतहटको प्रथम जिल्ला अधिवेशनअन्तर्गत सभापति चयन प्रक्रिया विवादमा तानिएको छ। अधिवेशनमा सभापति पदका लागि निर्वाचन हुने तयारी भइरहेका बेला रातारात निर्वाचन प्रक्रिया स्थगित गरिएपछि कार्यकर्तामाझ विभिन्न प्रश्न उठ्न थालेका छन्।
पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता र विधिको शासनको पक्षमा आवाज उठाउँदै आएका रास्वपाका केही निर्वाचित सांसदहरू नै जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया रोक्ने पक्षमा देखिएको आरोप कार्यकर्ताहरूले लगाएका छन्। निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गरिरहेका कार्यकर्ताहरूले सांसदहरूको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
अधिवेशनमा सभापति चयनका लागि निर्वाचन हुने तयारी अन्तिम चरणमा पुगेको अवस्थामा प्रक्रिया स्थगित गरिनुले पार्टीको घोषित नीति र व्यवहारबीच अन्तर देखिएको भन्दै कार्यकर्ताहरूले आलोचना गरेका छन्। उनीहरूले नेतृत्व चयनमा हस्तक्षेप भएको आशंका व्यक्त गर्दै स्पष्ट जवाफको माग गरेका छन्।
उक्त पत्रमा सङ्घीय सांसदहरू रौतहट १ का राजेश चौधरी, ३ का रवीन्द्र पटेल, ४ का गणेश पौडेल र गजला शमीम मिकरानीको हस्ताक्षर रहेको छ। त्यस्तै संगठन विभाग सदस्य उदय नारायण सापकोटा, रौतहट २ का सङ्घीय सांसद प्रत्याशी शेख सागिर तथा श्रम विभाग सदस्य मोहम्मद शेख सनाउल्लाह लगायतले पनि पत्रमा हस्ताक्षर गरेका छन्।
यता, पार्टीका जिल्ला तहका नेताहरूले भने संगठनात्मक सहमति, व्यवस्थापन तथा आन्तरिक कारणले प्रक्रिया स्थगित गरिएको दाबी गरेका छन्। यद्यपि निर्वाचन स्थगित गर्ने निर्णयको वास्तविक कारणबारे पार्टीले आधिकारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
निर्वाचनमार्फत नेतृत्व चयनको पक्षमा उभिएका कार्यकर्ताहरूले पार्टीले छिट्टै स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। अन्यथा, आन्तरिक लोकतन्त्रको पक्षमा उठाइएका प्रतिबद्धतामाथि नै प्रश्न उठ्ने उनीहरूको भनाइ छ।
रौतहट जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया स्थगित भएपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्व चयन प्रक्रियाबारे बहस तीव्र बनेको छ।
