
काठमाडौं, २६ जेठ। नेपाली कांग्रेसमा चुलिएको विवाद समाधानका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग छलफल गर्दै आएको संस्थापन पक्षले संवादको दायरा फराकिलो बनाएको छ ।
खड्कासँग सहमतिको प्रयासले अपेक्षित परिणाम नदिएपछि संस्थापनले इतर समूहका अन्य प्रभावशाली नेताहरूसँग पनि प्रत्यक्ष संवाद अघि बढाएको हो ।
संस्थापन पक्षले मंगलबार बिहान डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाएको छ ।
‘आज (मंगलबार) बिहान उताका केही प्रभावशाली नेताहरूलाई परिमार्जन सहितको सात बुँदा पठाइएको छ,’ संस्थापन पक्षका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘डा. शेखर, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौलालाई प्रस्ताव पठाएका छौं ।’
यसअघि १६ जेठमा सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए । प्रस्तावबारे खड्काले जवाफ नदिएपछि सात बुँदे प्रस्ताव परिमार्जनसहित इतर समूहका शीर्ष पाँच नेताहरूलाई पनि पठाइएको हो ।
सहमतिको प्रयासमा २२ जेठमा उपसभापति विश्वप्रकाश शर्माले गल्फुटार पुगेर खड्कासँग पुन: संवाद गरेका थिए । शर्मा र खड्काबीच झण्डै तीन घण्टा लामो छलफल भएको थियो । संस्थापन पक्षका अनुसार उक्त छलफलबाट सम्भावित साझा मतका केही आधारहरू समेत पहिचान गरिएको संस्थापन पक्षको भनाइ छ ।
त्यसपछि २४ जेठमा सभापति गगन थापा र उपसभापति शर्माले प्रस्तावमा थप परिमार्जन गरेका थिए । तर, सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग विगत ३१ दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति सार्वजनिक गरेका थिए । खड्काको उक्त अभिव्यक्तिप्रति संस्थापन पक्ष असन्तुष्ट देखिएको छ ।
सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवादमा फैसला सुनाएपछि ६ वैशाखमा सभापति थापाले गल्फुटार पुगेर खड्कासँग छलफल गरेका थिए । विशेष महाधिवेशनपछि यो नै दुई नेताबीचको पहिलो भेटवार्ता थियो ।
त्यसपछि २३ वैशाखमा सभापति थापा र उपसभापति शर्मा पुन: खड्का निवास पुगेका थिए । खड्कासँग भेटवार्ता गर्नुअघि सभापति थापाले नेता शेखर कोइरालासँग समेत विशालनगरस्थित सचिवालयमा छलफल गरेका थिए ।
जेठ मसान्तको डेडलाइन
उता, इतर समूह विवाद समाधानका लागि प्रगति नभएको भन्दै समय सीमा (डेडलाइन) सहित रणनीतिमा उत्रिएको छ । आन्तरिक विवाद समाधानका लागि संस्थापन इतर समूह जेठ मसान्तलाई डेडलाइन तोकेर आन्तरिक रणनीतिमा उत्रिएको हो ।
जेठ मसान्तभित्र सहमति नभए यसअघि नै नवीकरण भएका क्रियाशील सदस्यतामार्फत १५ औं अधिवेशनतर्फ अघि बढ्ने तयारी इतर समूहको छ ।
जेठ मसान्तभित्र पार्टीमा सहमति जुट्न नसके देशव्यापी भेला आयोजना गर्दै अधिवेशन प्रक्रियामा अघि बढ्ने तयारी भएको इतर समूहका नेताहरूले बताएका छन् ।
शीर्ष तहमा विवाद समाधानका लागि विभिन्न एजेन्डामा सहमति खोज्ने प्रयास जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन । निवर्तमान सभापति शेरबहादुर देउवा समूहका नेताहरू अब थप समय लम्ब्याउन नहुने पक्षमा देखिएका छन् ।
