
वीरगञ्ज, २७ जेठ। सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटेलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा नेपाल प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाको टोलीले गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली आसपासका होटेलहरू केन्द्रित गरी सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा चार पुरुष र १२ युवतीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत युवतीहरूको फोटो तथा भिडियो ग्राहकलाई देखाएर रकमको मोलमोलाइ गर्ने, भेटघाटको समय र स्थान तय गर्ने तथा ट्याक्सी र निजी सवारी साधनमार्फत होटेलसम्म पुर्याई यौनजन्य गतिविधिमा संलग्न गराउने कार्यमा उक्त समूह सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले प्रतिग्राहक करिब १० हजार रुपैयाँसम्म लिने गरेको र पक्राउ परेकाहरूको मोबाइल फोनमा रकमको बार्गेनिङ तथा यौन धन्दासम्बन्धी कुराकानी फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने पुरुषहरूमा सर्लाही लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौँ महानगरपालिका–९ शम्भुमार्ग बस्ने राजकुमार गौतम तथा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई काठमाडौँ बस्दै आएका ३३ वर्षीय होटेल सञ्चालक विकास भुलन रहेका छन् । पक्राउ परेका अन्य १२ जना युवतीहरूमा पेमा लामा, अञ्जली धिमाल, लक्ष्मी मगर, सम्झना थापा, एलिना तामाङ, कमला माया लामा, फुर्वा माया तामाङ, शिवानी सुनार, रोशनी लामा, सपना बम, उमा देवी गुरुङ र प्रिया तामाङ रहेका छन् ।
प्रहरीले युवती ‘सप्लाई’ गर्न प्रयोग गरिएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी पनि नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार विकास भुलन होटेल सञ्चालक, विवेक स्याङ्तान ट्याक्सी चालक, राजकुमार गौतम कार धनी तथा सुनिल तामाङ ग्राहक खोजी गर्ने भूमिकामा संलग्न रहेको खुलेको छ ।
यसअघि पनि गौशाला क्षेत्रमै यस्तै प्रकृतिको घटना सार्वजनिक भएको थियो । गत २० मङ्सिरमा दोलखा मेलुङ गाउँपालिका–१ घर भई बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका ३९ वर्षीय कुलबहादुर कार्की (आकाश) लाई आफ्नै कारमार्फत युवती आपूर्ति गर्ने धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा उनको मोबाइलमा ५० जना युवतीहरूको तस्बिर भेटिएको र होटेलमा बस्न आउने ग्राहकहरूलाई ती तस्बिर देखाएर मोलमोलाइ गरी युवती बोलाउने गरिएको खुलेको थियो । उनलाई पछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।
प्रहरीका अनुसार पछिल्लो समय काठमाडौँ उपत्यकामा निजी सवारी साधन प्रयोग गरी होटेलहरूमा युवती आपूर्ति गर्ने प्रवृत्ति बढ्दो देखिएको छ । सामाजिक सञ्जाललाई माध्यम बनाएर सङ्गठित रूपमा अवैध गतिविधि सञ्चालन भइरहेको आशङ्कामा यस घटनाबारे थप अनुसन्धान जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।
