चारदिने चीन भ्रमणमा आज प्रस्थान गर्दै परराष्ट्र मन्त्री शिशिर खनाल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
चारदिने चीन भ्रमणमा आज प्रस्थान गर्दै परराष्ट्र मन्त्री शिशिर खनाल

काठमाडौं, ३१ जेठ । परराष्ट्र मन्त्री शिशिर खनाल आज चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल जुन १४ देखि १७ सम्म बेइजिङमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीन अवतरणपछि मन्त्री खनाल बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत तथा रात्रि भोज कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । भोलिदेखि उनको औपचारिक भेटवार्ता सुरु हुने जनाइएको छ ।

भ्रमणका क्रममा उनले आफ्ना समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तामा नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने, पारस्परिक हितका विषयमा सहकार्य विस्तार गर्ने तथा विभिन्न क्षेत्रका सहयोगलाई गहिरो बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

मन्त्री खनालले चीन सरकारका उच्च पदस्थ अधिकारीहरू तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको छ ।

बेइजिङमा रहँदा उनले नेपाली दूतावासद्वारा आयोजित वैदेशिक लगानी प्रवर्द्धनसम्बन्धी सम्मेलनमा सहभागिता जनाउनेछन् । उक्त सम्मेलनमार्फत नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्य राखिएको छ । मन्त्री खनालले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना र अवसरबारे जानकारी गराउने कार्यक्रम पनि रहेको छ । साथै, चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत सहभागी छन् ।

गत साता मन्त्री खनालले भारतको भ्रमण गरेका थिए । बालेन्द्र शाह नेतृत्वमा रास्वपा नेतृत्वको नयाँ सरकार गठनपछि परराष्ट्र मन्त्रीको रूपमा उनको यो पहिलो चीन भ्रमण हो । उनको पछिल्ला भारत र चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

मन्त्री खनाल जुन १७ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस