सप्तरी, ११ साउन। सप्तरीमा सर्पदंशबाट एक ४२ बर्षिय महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका–१५ भरुवाकी कविता यादवको सर्पदंशबाट सोमबार मृत्यु भएको हो ।
सर्पले डसेकी उनलाई आइतबार साँझ गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएपनि उपचारकै क्रममा मृत्यु भएको थियो । महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तजनले अगाडि प्रदर्शन गरेका छन्।
सर्पले टोकेपछि उपचारका लागि अस्पताल ल्याइएकी यादवको अस्पतालको लापरबाहीले उपचारका क्रममा मृत्यु भएको मृतकको आफन्तहरुले आरोप लगाएका छन् ।
उनीहरुले दोषीमाथि छानबिन र कारबाहीको माग गर्दै अस्पताल विरुद्ध चर्को नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
घटनापछि अस्पताल परिसरमा तनाव सिर्जना भएको छ। अस्पतालको सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठूलो संख्यामा परिचालन गरिएको छ । घटना बारे अस्पताल प्रशासनको आधिकारिक धारणा आउन बाँकी छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु हुने र चिकित्सकले लापरबाही गरेको भन्दै यस्ता विरोध प्रदर्शन लगायतका घटना पटकपटक हुने गरेको छ ।