प्रश्नपत्र चुहावटले शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ११, सोमबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
प्रश्नपत्र चुहावटले शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज् (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपबाट बाहिरियो ।

साउन ८ गतेको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको ५ मिनेटमै प्रश्नपत्र लिक भएपछि सामाजिक सञ्जालमा छताछुल्ल भयो ।

तर, त्रिविको परीक्षामा त्रुटि यसपटक मात्र भएको होइन, यस्तो त्रुटि बारम्बार दोहोरिने गरेको छ । कहिले प्रश्नपत्र लिक, कहिले विद्यार्थीको उत्तरपुस्तिका हराउने त कहिले हुबहु प्रश्नपत्र दोहोरिने रोगै बनेको छ । यी घटनाले त्रिविको परीक्षा प्रणालीमाथि नै प्रश्न उठेको छ । प्राज्ञहरू प्रश्नपत्र चोरी वा लिक हुनुलाई शैक्षिक अपराध मान्छन् ।

‘यसले समग्र परीक्षा प्रणालीप्रति गम्भीर अविश्वास सिर्जना गरेको छ । मिहिनेत गरेर पढेका विद्यार्थीहरू अन्यायमा परेका छन्,’ परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलले भने, ‘नपढेकाले अनैतिक रूपमा उच्च अंक ल्याउने अवस्था बनेको छ । यसले शिक्षा प्रणालीलाई दूषित बनाएको छ ।’

कसरी निर्माण हुन्छ प्रश्नपत्र ?

परीक्षामा प्रमुख रूपमा दुई वटा शाखा हुन्छन् । एउटा गोप्य शाखा र अर्को अति गोप्य शाखा । यी दुई शाखाबाट प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन हुन्छ ।

त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका अनुसार गोप्य शाखामा परीक्षार्थीका उत्तरपुस्तिका आउने, ती विषयविज्ञलाई मूल्यांकनका लागि पठाउने, मूल्यांकनपछि उत्तरपुस्तिका फिर्ता लिने, रुजु गर्ने र अन्तिममा परीक्षाफल प्रकाशित गर्ने काम हुन्छ । अति गोप्य शाखामा भने प्रश्नपत्रसँग सम्बन्धित काम हुन्छ ।

‘प्रत्येक विषयका विज्ञहरूको रोस्टर तयार गरिएको हुन्छ । प्रत्येक विषयमा एक जना मात्र विज्ञ हुँदैनन् । नेपालभर उपलब्ध विज्ञहरूको अनुभव र दक्षताका आधारमा रोस्टर बनाइएको हुन्छ । त्यसमा सेवानिवृत्त प्राध्यापकदेखि कार्यरत प्राध्यापकसम्म समावेश हुन्छन्,’ परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलले भने ।

उनका अनुसार कुनै विषयको प्रश्नपत्र बनाउनु परेमा अति गोप्य शाखाले सम्बन्धित विषयविज्ञलाई गोप्य रूपमा सम्पर्क गरेर बोलाउँछ ।

‘उहाँहरूलाई प्रश्नपत्र तयार गरेर सिलबन्दी गरी ल्याउन भनिन्छ । पुराना प्रश्नपत्रको मौज्दात धेरै भए दुई सेट र कम भए तीन वा सोभन्दा बढी सेट प्रश्नपत्र तयार गर्न लगाइन्छ,’ उनले भने ।

विषयविज्ञले प्रश्नपत्र सिलबन्दी गरेर ल्याउनु पर्छ । ‘पेनड्राइभमा पनि फाइल लिएर आउनुहुन्छ । त्यसपछि पेनड्राइभबाट फाइल कपी गरिन्छ र सम्बन्धित विज्ञले त्यसलाई सुरक्षित रूपमा राख्नुहुन्छ । यसरी एउटा विषयका तीनदेखि पाँच सेटसम्म प्रश्नपत्र तयार हुन्छन्,’ प्रवक्ता पौडेलले भने, ‘त्यसपछि विषय समितिका अध्यक्षलाई बोलाइन्छ ।’

अध्यक्षसँगै एक जना अनुभवी सदस्य पनि सहभागी हुन्छन् । ‘उहाँहरूको काम स्क्रुटिनी (सूक्ष्म परीक्षण) गर्ने हो । सो क्रममा प्रश्नहरूमा दोहोरोपन, पाठ्यक्रमअनुसार भए/नभएको, क्रेडिट आवर मिले/नमिलेको, नेपाली वा अंग्रेजी भाषाको प्रयोग उपयुक्त छ/छैन, पूर्णाङ्कअनुसार प्रश्न बनेका छन् कि छैनन्, समूह विभाजन मिलेको छ/छैन र अघिल्लो वर्षका प्रश्न दोहोरिएको छ/छैन भनेर परीक्षण गरिन्छ,’ उनले भने ।

स्क्रुटिनी भएपछि सबै सेट फेरि सिलबन्दी गरिन्छ र समितिका दुवै सदस्यले हस्ताक्षर गरेर बुझाउनु पर्ने हुन्छ । त्यसपछि तीमध्ये एउटा सेट छनोट गरेर छपाइ प्रक्रियामा लगिन्छ ।

‘छपाइ अति गोप्य शाखाभित्र हुन्छ । कर्मचारीले मोबाइल वा अन्य कुनै डिजिटल उपकरण लैजान पाउँदैनन्। सबै काम त्यहीँभित्र बसेर गर्नुपर्छ। प्रश्नपत्र पनि त्यहीँभित्र छापिन्छ। त्यसपछि विद्यार्थी सङ्ख्याका आधारमा कुन केन्द्रमा कति प्रश्नपत्र पठाउने भन्ने तय गरी सिलबन्दी गरेर गाडी वा हवाई मार्गबाट परीक्षा केन्द्रमा पठाइन्छ,’ प्रवक्ता पौडेलले भने ।

परीक्षा केन्द्रमा पठाउँदा पनि सुरक्षा निकायको कार्यालयमा प्रश्नपत्र राखिएको हुन्छ । ‘प्रश्नपत्र नजिकको प्रहरी चौकीमा बुझाइन्छ। प्रहरीको निगरानीमा परीक्षा सुरु हुने दिन केन्द्रमा पुर्‍याइन्छ र परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि मात्र केन्द्राध्यक्षको रोहवरमा सिल खोलिन्छ,’ उनले भने ।

विद्यार्थीलाई उत्तरपुस्तिका भने परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि नै दिइन्छ । तर प्रश्नपत्र भने घण्टी बजेर परीक्षा सुरु भएपछि मात्र वितरण गरिन्छ ।

केन्द्रबाट बाहिरन्छ प्रश्नपत्र

परीक्षा नियन्त्रण कार्यालय बल्खुले प्रश्नपत्र कार्यालयभन्दा पनि परीक्षा केन्द्रबाट बाहिरिने गरेको दाबी गरेको छ ।

‘केन्द्राध्यक्ष वा निरीक्षकले मोबाइलबाट प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाउने वा भित्र रहेका शिक्षकले फोटो पठाएर उत्तर मगाउने जस्ता मिलेमतो भएमा मात्र प्रश्नपत्र लिक हुन सक्छ,’ प्रवक्ता कविराज पौडेललले भने, ‘अहिले देखिएका अधिकांश लिकेजका घटना परीक्षा सुरु भएपछि परीक्षा केन्द्रमै भएका देखिन्छन् ।’

मोबाइल लुकाएर परीक्षा हलभित्र लैजाने, प्रश्नपत्रको फोटो खिचेर ह्वाट्सएप वा अन्य समूहमा पठाउने, त्यसपछि एआईको प्रयोग गरेर उत्तर तयार गर्ने र त्यसलाई प्रिन्ट वा डिजिटल माध्यमबाट परीक्षार्थीसम्म पुर्‍याउने प्रवृत्ति बढेको गुनासो धेरै आउने गरेको छ ।

‘प्रश्नपत्र वितरणको प्रक्रियाबाट लिक हुने सम्भावना न्यून हुन्छ । अति गोप्य शाखाका कर्मचारी वा केन्द्राध्यक्षले पनि सहज रूपमा प्रश्नपत्र बाहिर लैजान सक्दैनन्,’ प्रवक्ता पौडेलले भने ।

परीक्षा प्रणालीमा अविश्वास

पछिल्लो घटनाले थप त्रिविको परीक्षा प्रणालीमा अविश्वास बढेको छ । मिलेमतो, लेनदेन, आफ्ना मान्छेलाई पास गराउने, परीक्षा केन्द्र व्यवस्थापनमा प्रभाव पार्ने जस्ता प्रवृत्ति दोहोरिरहनेबारे त्रिविको निकाय जानकार छ ।

तर, परीक्षा केन्द्रलाई दोष देखाएर सम्बन्धित निकायका जिम्मेवार प्रतिनिधिहरू पन्छिने छुट नभएको त्रिविका प्राध्यापकहरू बताउँछन् । परीक्षा केन्द्रमा समस्या भए त्यसको समाधान गर्ने काम माथिल्लो निकायको भएको तर्क प्राध्यापक र विद्यार्थीको छ ।

त्रिविका सहकुलपति एवं शिक्षा मन्त्री सस्मित पोखरेल संस्थागत सुधार गर्ने बताउँछन् । ‘आवश्यक कानुनी तथा संस्थागत सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ । विगतमा यस्ता घटनामा छानबिन लम्बिने र दोषी उम्किने गुनासो सुनिन्थ्यो, तर अब त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्छ भन्ने विश्वास छ ।’

इमानदार विद्यार्थीको मिहिनेतमाथि अन्याय हुन नदिने दाबी मन्त्री पोखरेलको छ । उनले भने, ‘परीक्षा प्रणालीलाई अझ पारदर्शी, सुरक्षित र विश्वसनीय बनाउने अवसरका रूपमा लिएको छु । इमानदार विद्यार्थीको मिहिनेतमाथि अन्याय हुन नदिन र शिक्षा प्रणालीप्रतिको जनविश्वास अझ बलियो बनाउन मन्त्रालयले आवश्यक सबै कदम चालिरहने छ ।’

कसरी सम्भव छ सुधार ?

त्रिविका अधिकारीहरू पनि परीक्षा प्रणालीको सुधारमा जोड दिन्छन् । ‘व्यापक प्रणाली सुधार गर्ने मौका हो । हामी त्यसमा लागिपरेका छौँ,’ त्रिविका निमित्त रजिस्ट्रार प्रा.डा. महानन्द चालिसेले भने ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले पनि नीतिगत सुधारमा जोड दिएको छ । ‘नीतिगत रूपमै सुधार गर्न आवश्यक छ । तर प्रश्नपत्र लिक हुने मुख्य समस्या परीक्षा केन्द्रमै देखिएको छ । केन्द्रमा सुरक्षा कडा बनाउनुपर्छ,’ प्रवक्ता पौडेलले भने, ‘जिल्ला प्रशासन, सुरक्षा निकाय, केन्द्राध्यक्ष, निरीक्षक, शिक्षक र कर्मचारी सबैले उच्च नैतिकता र जिम्मेवारीका साथ काम गर्नुपर्छ ।’

विद्यार्थीलाई कडा जाँचगरेर परीक्षा हलमा प्रवेश गराउनुपर्ने सुझाव प्रवक्ता पौडेलको छ । ‘अन्तर्राष्ट्रिय उडानमा जाँदा जस्तै मेटल–फ्री जोनको व्यवस्था परीक्षा केन्द्रमा पनि लागु गर्नुपर्छ ।

परीक्षा केन्द्रमा पनि केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी र विद्यार्थी सबैलाई मोबाइल, क्यामेरा वा अन्य कुनै डिजिटल उपकरण बिना मात्र प्रवेश गर्न दिनुपर्छ । अनि लिलका घटना नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।

 

ताजा अपडेट

खोजी गर्नुहोस