
वर्तमानकाल सम्वाददाता
साउन २७ गते ।
बाघको सङ्ख्या बढेसँगै पर्सा राष्ट्रिय निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई सञ्चालन गर्ने तयारी गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा पाठे बाघको सङ्ख्या ७१ पुगेको छ । निकुञ्जका प्रमुख रामचन्द्र खतिवडाका अनुसार निकुञ्जमा यसअघि ४१ बाघ रहेकामा हालै गरिएको बाघ गणनाका क्रममा बाघको सङ्ख्या एकैपटक ३० वटा बढेको हो ।निकुञ्जमा बाघको सङ्ख्या बढेपछि वन्यजन्तुप्रतिको नागरिकको सोच र आनीबानीमा परिवर्तन ल्याई मानव–बाघबीच सहअस्तित्व प्रवर्द्धन गर्ने तथा वन्यजन्तुहरूबाट हुने मानवीय क्षतिलाई शून्यमा झार्ने लक्ष्यसहित निकुञ्जले ‘बाघ मित्र’ अभियानलाई विस्तार गर्ने तयारी गरिएको प्रमुख खतिवडाले बताए ।
निकुञ्जसँग जोडिएको पर्सा, बारा र मकवानपुर जिल्लाका डिभिजन वन कार्यालयको समन्वयमा समुदायस्तरमा अभियान सञ्चालन गरिएको निकुञ्ज प्रमुख खतिवडाको भनाइ छ । उनका अनुसार अभियानअन्तर्गत समुदायको अग्रसरतामा वन्यजन्तुको महत्वबारे जनचेतना जगाउने, वन्यजन्तुबाट कसरी बच्ने, समस्या पर्दा कसरी समाधान गर्ने, राहत प्राप्त गर्ने विधिबारे अन्तक्र्रिया तथा छलफल कार्यक्रम सञ्चालन भइरहेको छ ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
