नयाँ प्रशिक्षक र नयाँ नियमसँगै सुरु हुँदैछ प्रिमियर लिग, चुनौती पनि उस्तै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३, बुधबार (३ घण्टा अघि)
  • २८ पटक पढिएको
नयाँ प्रशिक्षक र नयाँ नियमसँगै सुरु हुँदैछ प्रिमियर लिग, चुनौती पनि उस्तै

काठमाडौं, ०३ भदौ। विश्व फुटबलको सबैभन्दा चर्चित घरेलु लिगमध्ये एक इंग्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ ।

गत सिजन २२ वर्षपछि उपाधि जितेको आर्सनलले नयाँ सिजनको उद्घाटन खेलमै नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

२०२६/२७ को सिजन यसअघिका वर्षभन्दा केही फरक हुनेछ । फिफा विश्वकप सकिएको करिब एक महिनापछि प्रिमियर लिग सुरु हुन लागेकाले खेलाडीको फिटनेसदेखि टोलीको तयारीसम्म विश्वकपको प्रभाव देखिनेछ ।

प्रिमियर लिगले खेलाडीको आराम र व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डरलाई ध्यानमा राख्दै नयाँ सिजन एक साता ढिलो सुरु गरेको हो ।

यसपटक लिगमा ९ टोली नयाँ प्रशिक्षकसहित मैदानमा उत्रिँदैछन् । आर्सनलका मिकेल आर्टेटा केही प्रमुख टोलीमध्ये निरन्तरता पाएका प्रशिक्षक हुन् भने म्यानचेस्टर सिटीमा पेप ग्वार्डिओलाको लामो युग समाप्त भएर एन्जो मारेस्काले जिम्मेवारी सम्हालेका छन् ।

लिभरपुलमा एन्डोनी इराओला, चेल्सीमा जाभी अलोन्सो र म्यानचेस्टर युनाइटेडमा माइकल क्यारिकले नयाँ अध्याय सुरु गर्दैछन् ।

ठूला क्लबको तयारी

प्रिमियर लिग च्याम्पियन आर्सनल उपाधि रक्षा गर्ने अभियानमा थप बलियो देखिएको छ । प्रिमियर लिगको च्याम्पियन बनेको टोलीले यस गर्मीमा ब्रुनो गिमारेस, पिएरो हिन्कापी, क्रिस्टोस जोलिस र गोलकिपर इलान मेस्लियरलाई भित्र्याइसकेको छ । क्लबले अहिलेसम्म करिब १५ करोड पाउन्ड खर्च गरिसकेको र आक्रमणमा अझै थप विकल्प खोजिरहेको छ ।

आर्सनलले एफए कम्युनिटी शिल्डमै नयाँ खेलाडीहरूको प्रभाव देखाइसकेको छ । म्यान्चेस्टर सिटीलाई ३–० ले हराउँदा जोलिसले दुई असिस्ट गरेका थिए भने ब्रुनो गिमारेसले मिडफिल्ड सम्हालेका थिए । यसले आर्सनलको नयाँ सिजनको टोलीगत गहिराइलाई सुरुवातमै संकेत गरेको छ ।

यस्तै म्यान्चेस्टर सिटीका लागि यो सिजन नयाँ युगको सुरुवातजस्तै हुनेछ । पेप ग्वार्डिओलापछि एन्जो मारेस्का प्रशिक्षक बनेका छन् भने सिटीले नटिङहम फरेस्टबाट इंग्ल्यान्डका मिडफिल्डर इलियट एन्डरसनलाई करिब ११ करोड ६० लाख पाउन्डमा भित्र्याएको छ । २३ वर्षीय एन्डरसनले पाँच वर्षको सम्झौता गरेका छन् ।

सिटीको अर्को ठूलो परिवर्तन भनेको रोड्रीको बहिर्गमन हो । स्पेनका विश्वकप विजेता तथा २०२४ का बालोन डी’ओर विजेता रोड्री ६ करोड ५४ लाख पाउन्डमा बार्सिलोना पुगेका छन् । सिटीका लागि रोड्रीको स्थान पूर्ति गर्नु मारेस्काको सबैभन्दा ठूलो चुनौतीमध्ये एक हुनेछ ।

म्यान्चेस्टर युनाइटेडले यसपटक लामो समयदेखि देखिएको मिडफिल्ड समस्या समाधान गर्न खोजेको छ । एस्टन भिल्लाबाट युरी टिलेमान्स ३ करोड ५० लाख पाउन्डमा ओल्ड ट्राफोर्ड पुगेका छन् भने चेल्सीबाट ब्राजिलियन मिडफिल्डर आन्द्रे सान्तोस करिब ५ करोड पाउन्डमा भित्रिएका छन् । यी दुई खेलाडीले युनाइटेडको मिडफिल्डलाई लगभग नयाँ रूप दिएका छन् ।

युनाइटेडमा मार्कस रासफोर्डको पुनरागमन पनि सिजन सुरु हुनुअघि चर्चाको विषय बनेको छ। बार्सिलोना र एस्टन भिल्लामा लोनमा बिताएपछि रासफोर्ड युनाइटेडमै फर्किएका छन् ।

यता लिभरपुलमा पनि नयाँ युग सुरु भएको छ । एन्डोनी इराओला प्रशिक्षक बनेपछि क्लबले रेनेसका २० वर्षीय फ्रान्सेली सेन्टरब्याक जेरेमी ज्याकेलाई करिब ६ करोड पाउन्डमा तथा ओसासुनाबाट स्पेनिस विंगर भिक्टर मुनोजलाई करिब ३ करोड ४० लाख पाउन्डमा भित्र्याएको छ । मुनोजले २०२५/२६ मा ओसासुनाका लागि ३४ खेलमा सात गोल र पाँच असिस्ट गरेका थिए ।

चेल्सीले भने सबैभन्दा ठूलो नाममध्ये एकलाई भित्र्याएको छ । एस्टन भिल्लाबाट इंग्ल्यान्डका मिडफिल्डर मोर्गन रोजर्सलाई ११ करोड ७० लाख पाउन्डको क्लब-रेकर्ड शुल्कमा अनुबन्ध गरेको छ । नयाँ प्रशिक्षक जाबी अलोन्सोको टोलीमा अनुभवी जोर्डन हेन्डरसन र ड्यानी वेलबेक पनि थपिएका छन् ।

यससँगै चेल्सीले स्ट्रासबर्गबाट भालेन्तिन बार्को, एटलान्टाबाट मार्को पालेस्त्रा, स्पोर्टिङबाट जियोभानी क्वेन्डा र क्रिस्टल प्यालेसबाट म्याक्सेन्स लाक्रोइक्स पनि भित्र्याएको छ । अर्थात् चेल्सीको यसपटकको रणनीति युवा प्रतिभासँगै केही अनुभवी प्रिमियर लिग खेलाडी मिसाउने देखिन्छ ।

ट्रान्सफर बजार भने अझै बन्द भएको छैन । प्रिमियर लिगका क्लबले सेप्टेम्बर १ सम्म खेलाडी अनुबन्ध गर्न पाउने भएकाले सिजन सुरु भए पनि टोलीहरूमा थप परिवर्तन हुने सम्भावना कायमै छ ।

तीन नवप्रवेशीको परीक्षा

यसपटक च्याम्पियनसिपबाट कोभेन्ट्री सिटी, इप्सविच टाउन र हल सिटी प्रिमियर लिगमा फर्किएका छन् । तीनै टोलीका लागि शीर्ष डिभिजनमा टिक्नु पहिलो लक्ष्य हुनेछ ।

फ्रांक लाम्पार्डको प्रशिक्षणमा रहेको कोभेन्ट्रीले २५ वर्षपछि पहिलोपटक प्रिमियर लिग खेल्दैछ । उसले सुरुवाती खेलमै च्याम्पियन आर्सनलको मैदानमा खेल्नुपर्नेछ । लाम्पार्डसामु सबैभन्दा ठूलो चुनौती टोलीमा शीर्षस्तरको अनुभव थप्नु रहेको छ ।

इप्सविच भने एक वर्षमै प्रिमियर लिगमा फर्किएको हो । २०२४/२५ सिजनमा रेलिगेसनमा परेपछि च्याम्पियनसिपमा फर्किएको टोलीले तत्कालै पुनरागमन गरेको हो । नयाँ प्रशिक्षक ग्यारी ओ’निलको नेतृत्वमा इप्सविचले यसपटक शीर्ष डिभिजनमा टिक्ने लक्ष्य राखेको छ ।

हल सिटीले भने प्लेअफमार्फत अप्रत्याशित रूपमा प्रिमियर लिगको टिकट काटेको हो । सर्गेइ जाकिरोभिकको टोलीका लागि सबैभन्दा ठूलो चुनौती डिफेन्समा देखिन्छ । गत सिजन च्याम्पियनसिपमा हलको अपेक्षित गोलविरुद्धको तथ्याङ्क कमजोर थियो, त्यसैले प्रिमियर लिगमा उसले रक्षापंक्ति सुधार्नुपर्नेछ ।

तीनै नवप्रवेशीका लागि चुनौती कति ठूलो छ भन्ने पछिल्ला वर्षको तथ्याङ्कले पनि देखाउँछ । पछिल्ला दुई सिजनमा प्रिमियर लिगमा बढुवा भएका सबै छ टोली एक सिजनमै रेलिगेसनमा परेका थिए । पछिल्लो दशकमा बढुवा भएका ३० टोलीमध्ये १६ टोलीले पहिलो सिजनमै रेलिगेसन भोगेका छन् ।

केही नयाँ नियम

नयाँ सिजनमा खेलाडी र प्रशिक्षकसँगै रेफ्रीका लागि पनि केही नयाँ नियम लागू हुँदैछन् । खेलको समय खेर जाने क्रम घटाउन थ्रो–इन र गोलकिक लिन पाँच सेकेन्डको सीमा लागू हुनेछ । समयसीमा नाघेर जानाजानी ढिलाइ गरे विपक्षीलाई थ्रो–इन वा गोलकिकको अवस्थामा कर्नर दिइनेछ ।

खेलाडीलाई मैदानमा उपचार गरिएपछि कम्तीमा एक मिनेट बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी प्रतिस्थापित खेलाडीले मैदान छाड्न १० सेकेन्डभित्र समय पाउनेछन् ।

समयमै ननिस्किए उनको स्थानमा आउने खेलाडी तत्काल मैदान प्रवेश गर्न पाउने छैनन् । दोस्रो पहेँलो कार्डबाट रातो कार्ड पाएको अवस्थामा पनि निश्चित परिस्थितिमा भीएआरले पुनरावलोकन गर्न सक्नेछ ।

भीएआरमा पनि पारदर्शीता बढाउने प्रयास हुँदैछ । अब प्रिमियर लिगले स्वतन्त्र ‘की म्याच इन्सिडेन्ट्स प्यानल’ का निर्णय सार्वजनिक गर्नेछ । महत्वपूर्ण घटनामा रेफ्री र भीएआर अधिकारीको प्रत्यक्ष उद्धरणसमेत सार्वजनिक गरिनेछ भने छनोट गरिएका खेलमा रेफ्रीको क्यामेराबाट रेकर्ड भएको अडियो पनि दर्शकले सुन्न पाउनेछन् ।

विश्वकपको असर कति देखिएला ?

फिफा विश्वकप २०२६ जुलाईको उत्तरार्द्धमा सकिएको थियो । त्यसको केही सातामै प्रिमियर लिग सुरु हुँदा विश्वकप खेलेका खेलाडीका लागि आराम र पुनःलयमा फर्किनु चुनौती बन्न सक्छ ।

विशेषगरी विश्वकपको अन्तिम चरणसम्म पुगेका इंग्ल्यान्ड, स्पेन, अर्जेन्टिना र अन्य टोलीका खेलाडीहरूलाई क्लब सिजनमा तत्कालै पूर्ण क्षमतामा फर्काउन प्रशिक्षकहरूलाई कठिन हुन सक्छ ।

यसपटकको प्रिमियर लिगमा त्यसैले टोलीको गहिराइ पनि उपाधि र शीर्ष चारको दौडमा महत्वपूर्ण बन्नेछ ।

पहिलो चरणमै ठूला खेल

उद्घाटन खेलमा च्याम्पियन आर्सनलले कोभेन्ट्रीको सामना गर्नेछ । दोस्रो दिन हल सिटीले म्यान्चेस्टर युनाइटेडलाई आतिथ्यता दिनेछ भने इप्सविचले सन्डरल्यान्डसँग खेल्दै प्रिमियर लिगमा पुनरागमन गर्नेछ ।

नटिङहम फरेस्ट र लिड्स युनाइटेड, ब्रेन्टफोर्ड र टोटेनहम तथा आइतबार म्यान्चेस्टर सिटी र बर्नमाउथबीचको खेल पनि पहिलो चरणका आकर्षण हुन् । न्युक्यासल र लिभरपुल तथा फुलहम र चेल्सीको खेलले पनि सुरुवातमै ध्यान खिच्नेछ ।

यसपटकको प्रिमियर लिगमा उपाधि रक्षा गर्ने आर्सनल, नयाँ प्रशिक्षकसहितका लिभरपुल र म्यान्चेस्टर सिटी, ठूलो लगानी गरिरहेको चेल्सी र पुनः उदयको खोजीमा रहेको म्यान्चेस्टर युनाइटेडबीचको प्रतिस्पर्धासँगै नवप्रवेशीहरूको अस्तित्वको लडाइँ पनि उत्तिकै रोचक हुनेछ ।

विश्वकपपछि सुरु हुने नयाँ सिजनमा नयाँ प्रशिक्षक, नयाँ खेलाडी र नयाँ नियमसँगै प्रिमियर लिगले फेरि अर्को रोमाञ्चक फुटबल यात्राको सुरुवात गर्दैछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस