
काठमाडौं, ०३ भदौ। वैदेशिक रोजगार बोर्डले १० जना स्वयंसेवक कर्मचारी माग गरेको छ । बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम र सचिवालयको आवश्यकताअनुसार स्वयंसेवक कर्मचारी पदपूर्ति गर्न आवेदन आह्वान गरेको हो ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवार सदस्य, अंगभंग तथा बिरामी भएका श्रमिक, वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूका परिवारका सदस्यबाट स्वयंसेवक कर्मचारी छनोट गर्ने जनाएको छ ।
छनोट भएका कर्मचारीलाई चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि स्वयंसेवकका रूपमा परिचालन गरिनेछ ।
उमेरका हकमा श्रमिकका परिवारका सदस्यका लागि १८ वर्ष पूरा भई पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको हकमा भने ४५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदकले न्यूनतम माध्यमिक तह अर्थात् कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने बोर्डले जनाएको छ ।
आवेदनसँगै नेपाली नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रलगायतका कागजात पेस गर्नुपर्नेछ । वैदेशिक रोजगारीका क्रममा अंगभंग वा बिरामी भएका श्रमिक तथा परिवारको हकमा बोर्डबाट सय प्रतिशत क्षतिपूर्ति प्रदान गरिएको कागजातसमेत पेस गर्नुपर्नेछ ।
त्यस्तै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको परिवारका सदस्यले मृत्यु पुष्टि हुने कागजात, जस्तै विदेशी अस्पतालको मृत्यु प्रमाणपत्र वा वैदेशिक रोजगारीका क्रममा भएको मृत्युबापत क्षतिपूर्ति प्राप्त गरेको अभिलेख तथा नेपालमा जारी भएको मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
परिवारका सदस्य वा श्रमिक वैदेशिक रोजगारीमा रहेको तथा फर्किएको पुष्टि हुने कागजातसमेत आवेदनसँगै बुझाउनुपर्नेछ । यसका लागि अध्यागमनको छाप भएको राहदानीको छायाप्रति, श्रम स्वीकृतिलगायतका कागजातलाई आधार मानिने बोर्डले जनाएको छ ।
आवेदकले श्रमिकसँगको नाता खुल्ने कागजातसमेत पेस गर्नुपर्नेछ । नाता प्रमाणित गर्न विवाहदर्ता, जन्मदर्ता, नागरिकता, नाता प्रमाणित वा अन्य सरकारी कागजात पेस गर्न सकिनेछ ।
स्वयंसेवक कर्मचारी छनोटका लागि कम्प्युटर सिप परीक्षण र अन्तर्वार्ता लिइनेछ । बोर्डले आवेदन परेका उम्मेदवारमध्ये मापदण्ड पूरा गरेका आवेदकलाई मात्र छनोट प्रक्रियामा सहभागी गराउने जनाएको छ ।
छनोट भएका स्वयंसेवक कर्मचारीले मासिक २५ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । आवेदनका लागि कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।
