
काठमाडौं, ०३ भदौ। नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए)को निर्वाचनमा अनलाइन भोटिङ र सदस्यता नवीकरणको माग राखेर आन्दोलन भएको छ ।
इन्जिनियरहरूले यो विषयलाई लिएर एनईएको केन्द्रीय कार्यालय पुल्चोकमा धर्ना दिएका हुन् ।
उनीहरूले ‘सदस्यता नवीकरण तथा म्याद थप गर’, ‘अनलाइन भोटिङ लागु गर’, ‘सर्वसम्मत निर्वाचन लागु गर’ भन्ने नारा लगाएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन ३५ औं केन्द्रीय तथा चौथो प्रादेशिक कार्यकारिणी समितिहरुको निर्वाचनमा छ ।
तर, सदस्यता संख्यामा समीक्षा आवश्यक रहेको भनेर कतिपयले विरोध गरेका हुन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनको कुल सदस्य संख्या ४६ हजार रहेकोमा हाल सदस्य संख्या १४ हजार २९४ को हाराहारीमा सीमित भएको भनेर पनि इन्जिनियरहरूले प्रश्न उठाएका छन् ।
करिब ३२ हजार सदस्यलाई बाहिर राखेर निर्वाचन गर्दा उचित प्रतिनिधित्व हुन नसक्ने उनीहरूको भनाइ छ ।
विगतका निर्वाचनहरूमा निर्वाचनको मिति निर्धारण, निर्वाचन कार्यक्रम तथा कार्यतालिका, सदस्यता व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल, परामर्श तथा समन्वय हुँदै आएको थियो ।
तर, यसपटक निर्वाचनको मिति तथा विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक हुनुअघि सम्बन्धित सरोकारवाला पक्षहरूसँग पर्याप्त तथा औपचारिक परामर्श हुन नसकेको उनीहरूको भनाइ छ ।
आन्दोलनरत पक्षले निर्वाचन कार्यतालिका पुन: परामर्श गरी समयसापेक्ष एवं समावेशी बनाउनुपर्ने माग राखेका छन् ।
एनईएले भने आगामी असोज २ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ ।
जसमा उम्मेदवारको मनोनयन दर्ता यही भदौ १३ र १४ गतेका लागि तय गरिएको छ ।
