
काठमाडौ, १४ भदौ। धादिङको गल्छीभन्दा थोरै पर सामान बोक्ने केही कन्टेनर लस्करै फर्केको देख्दा उनको मनमा केही शंका उत्पन्न भइसकेको थियो । त्रिशुली नदीमा बाढी आएको गाइँगुइँ सुनेपछि गोरखा पालुङटार नगरपालिका–५ माझाटारस्थित नौखोरका ७० बर्षीय बद्रीप्रसाद देवकोटाको मन आत्तियो ।
उनका अनुसार त्यति बेलासम्म त्रिशुली नदीमा बाढीको कुनै संकेत थिएन । नदी सग्लै थियो । अन्य केही सवारी पनि अघि बढिरहेका थिए । सामान्य ठानेर उनी चढेको बस पनि अघि बढिरह्यो ।
विस्तारै चालकले गाडीको गति बढाउन थाले । भैंसे नपुग्दै सँगै यात्रामा रहेका बाबुराम देवकोटाले पिसाब फेर्नका लागि बस रोक्न आग्रह गरे । तर रोकिएन । बसको गति झन् बढ्न थाल्यो ।
अघि बढ्दै गर्दा एक्कासी चालकको आँखा केही पर माथिबाट आउँदै गरेको ठूलो छालमा पर्यो । बस फर्काउन भन्दै ‘स्पिड’ कम गरे । सोही क्रममा बाबुराम बसबाट हाम फाल्न भ्याए । लगतै सँगै यात्रामा रहेका तुलाराम देवकोटा पनि हाम फाले ।
बद्रीप्रसादको मन झन् आत्तियो । ‘म ड्राइभरदेखि पछाडि सिटमा बसेको थिएँ, के भएछ भनेर माथिको सिसाबाट ठाडो मुन्टो लगाएर हेरेको त संसार नै ढाक्ने गरी छाल आएको देखेँ,’ उनले भने । अब बाच्ने सम्भावना छैन भन्दै उनले पनि बसबाट हामफाल्ने निर्णय गरे ।
सिटबाट जुरुक्क उठेर माथिको डण्डी समाए । ढोका अगाडी झोलाको चाङ थियो । नाँघेर निस्कन खोज्दा सँगै सिटमा रहेकी श्रीमतीले हाम नफाल्नु भन्दै उनको हात समाइन् । त्यतिबेला बसबाट हाम फाल्ने बाहेक उनको मनले अरु केही सोच्न सकेन । श्रीमतीबाट जसोतसो हात फुत्काएर उनी गुडिरहेको बसबाट हाम फाले । उनी हाम फाले लगतै स्टाट बन्द भएर बस रोकियो ।
त्यही बेला पहिलो छालले बसलाई हान्यो । लेदोसहित आएको उक्त छालले भाग्दै गरेका बद्रीलाई नालामा पछार्यो । केही सेकेन्ड छाल रोकियो । त्यही मौका छोपेर बद्रीप्रसाद उठेर भागे । केही पर एउटा सानो रुखको हाँगा समाएर बसे । ‘भाइ तुलाराम पनि त्यही रुख समातेर बसेको रहेछ, हामी दुई भाइ त्यही बुटामा झुन्डिएर बस्यौँ ।’
हेर्दाहेर्दै बसलाई छालले बगायो । कता पुर्यायो उनीहरूले अत्तोपत्तो पाएनन् । ‘हामीले हेर्दाहेर्दै बस सलल बगाएर लगिहाल्यो, चुर्लुम्म डुबेको थियो बस निस्कँदै निस्केन । श्रीमती पनि त्यही छन्, अरु पनि छन्, माया लागेको छ केही गर्न सक्ने अवस्था रहेन,’ बद्रीप्रसादले भक्कानिँदै भने ।
सुरक्षित स्थानका लागि उनीहरू भौतारिन थाले । केहीमाथि पुगेपछि सँगै यात्रामा रहेका रविन्द्र देवकोटा र पार्वती न्यौपानेलाई भेटे । ‘उनीहरूलाई पानीको छालले फालिदिएको रहेछ, शरिरभरी हिलो लागेर मुढाजस्तो भएर आएका थिए,’ बद्रीले भने । भागेर ज्यान बचाएका सहचालक पनि त्यहीँ आइपुगे । एक अर्कालाई भेटेपछि उनीहरू रुन थाले । एक अर्कालाई सम्झाउँदै केहीबेर त्यही रोकिए । त्यो बेलासम्म बाढी रोकिएको थिएन । माथिबाट डाँडा नै खस्लाझैँ सुसाउँदै बाढी उर्लिरहेको थियो।
दुई घण्टासम्म उनीहरू त्यहीँ रहे। उद्धारका लागि कुरिरहे तर, कोही आएनन् । सवा दुई घण्टापछि एउटा हेलिकप्टर आकाशमा देखे । तर उनीहरूको उद्धार भएन । ‘नदी पारि घरका छतबाट मानिसहरू बचाउ भन्दै हात उठाइरहेका थिए,’ बद्रीले भने, ‘हेर्दाहेदै भेलले घरसहित उनीहरूलाइ पनि बगायो ।’
उद्धार नभएपछि उनीहरू आफ्नो सुरले अघि बढे । हिलेखर्क पुग्ने बेला उनीहरूको अवस्था दयनीय भयो । त्यहाँ एक कप चिया र बिस्कुट पाए । तर कसले दियो थाहा पाएनन् । त्यहाँबाट गाडीमा चढाएर उनीहरूलाई सूर्यगढी गाउँपालिका लगियो । भाग्ने क्रममा घाइते भएका उनीहरूको प्राथमिक उपचार गरियो । शुक्रबार हेटौँडा कुलेखानी हुँदै काठमाडौ पुर्याइयो ।
बसबाट हाम फालेर ज्यान जोगाएका तुलारामले उद्धारमा राज्य चुकेको भन्दै आक्रोश पोखे। सरकारले समयमै सूचना प्रवाह नगर्दा ठूलो क्षति व्यहोर्नुपरेको उनको गुनासो छ । ‘सूचना पाएलगतै त्रिशुली नाकामा गाडीहरू रोकेको भए यत्रो क्षति हुने हुन्थेन होला, आज लासको थुप्रा देख्न पर्थेन होला,’ उनले भने ।
आफू बचेपनि सँगै गएका श्रीमती र अरुलाई बचाउन नसकेको भन्दै उनी भावुक बने । ‘म बाँचे पनि बुढी गई, समाज बित्यो,’ भक्कानिँदै उनले भने, ‘म गएपछि सुरक्षित हुन्छ भनेर भाउजु,बुहारी पठाउनुभयो तर मैले कसैलाई बचाउन सकिनँ ।’ पानीले गाडीलाई छोएपछि मात्र बाढी आएको थाहा पाएको उनले बताए ।
बाढीले बगाएकी श्रीमती, आफन्त र छिमेकी भेटिने आशमा उनी त्यहीँ पुगेका थिए। उनी तर उनले केही भेटेनन्।
पालुङ्टारबाट तिर्थयात्राका लागि गोसाइकुण्ड जाँदै गरेको उक्त बसमा चालक र सहचालकसहित एकै गाउँका ३८ जना सवार थिए । जसमध्ये ६ जना हाम फालेर ज्यान जोगाउन सफल भए । सम्पर्कविहीन ३२ जनामध्ये दुई जनाको शव फेला परेको छ । बाँकीको खोजी कार्य जारी छ।
