काठमाडौ, १४ भदौ। सशस्त्र प्रहरी बलले ६० घण्टापछि जीवितै उद्धार गरेकी बालिकाको बाबुआमासँग सम्पर्क भएको छ । सशस्त्र प्रहरीको टिमुरेस्थिती बीओपी (बोर्डर आउट पोस्ट)को टोलीले बाढी आएको ६० घण्टापछि एक बालिकाको जीवितै उद्धार गरेको थियो ।
माटोले पुरिएको अवस्थामा बच्चा रोएको जस्तो आवाज आएपछि सशस्त्र प्रहरीको टोली खोजी तथा उद्धारमा जुटेको थियो ।
यसरी उद्धार भएकी बालिका हुन्– ६ वर्षीया मनिषा उचाईमगर । मनिषाका बाबुआमा पनि बाढीबाटै जोगिएर अहिले उपचाररत छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार, ती बालिकाकी आमा गीता उचाई मगर टिमुरेस्थित ग्लोबल आईएमई बैंककी कर्मचारी रहेको खुलेको छ ।
बाबुआमाले भने बाढीको छालले भित्तामा फालेर आफूहरू बँच्न सफल भएको सुरक्षाकर्मीसँग बताएका छन् ।
मनिषाको स्वास्थ्यमा थप समस्या देखिएपछि अहिले ती बालिकालाई काठमाडौं ल्याएर उपचार गराइएको छ । अहिले उनीहरू सबैको एउटै अस्पतालमा उपचार भइरहेको छ ।
६ वर्षीया छोरीको पनि ६० घण्टापछि जीवितै उद्धार भएकोबारे बाबुआमा पनि जानकार छन् ।
सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार, टाउको बाहेक मनिषाको शरीरका अन्य भागहरू भने माटोले पुरिएका थिए । काठको टाँड परेकाले टाउकाको थोरै भाग पुरिनबाट बँचेको थियो । त्यही टाँडबाट आवाज आएपछि बीओपी टिमुरेको टोलीले ती बालिकाको जीवितै उद्धार गरेको थियो ।
यही बीओपीमा कार्यरत ९ जना सशस्त्र प्रहरी अझै बेपत्ता छन् ।
उद्धार गरेकी बालिकालाई बीओपीमा राखेर सशस्त्र प्रहरीले प्राथमिक उपचार गराएको थियो । रातभर त्यही राखेर प्राथमिक उपचार गरेपछि सेनाको हेलिकप्टरमार्फत बालिकालाई धुन्चे लगिएको थियो ।