घरजग्गा कारोबार दोब्बरले बढ्यो, सबैभन्दा धेरै कारोबार काठमाडौं महानगरमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
घरजग्गा कारोबार दोब्बरले बढ्यो, सबैभन्दा धेरै कारोबार काठमाडौं महानगरमा

काठमाडौं, ३० भदौ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष घरजग्गा कारोबार रकम करिब दोब्बर बढेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा कुल ७ खर्ब २० अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

गत आवको चौथो त्रैमासमा मात्रै  २ खर्ब ७५ अर्ब बराबरको घरजग्गा कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १२७.६१ अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा सोही अवधिमा यस्तो कारोबार संख्या १४.६५ प्रतिशतले बढेको थियो ।

गत आवमा घरजग्गा कारोबारमध्ये लिखत पारित अन्तर्गतको कारोबार संख्या १२.२८ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या १५.४५ प्रतिशत बढेको थियो ।

गत आवमा लिखत पारित अन्तर्गतको राजीनामा कारोबारको संख्या २२.८८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या ८.१५ प्रतिशतले बढेको थियो । गत आवमा कारोबार भएको कुल क्षेत्रफल १५.४१ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

गत आवमा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व ४८.२६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो राजस्व २३.४५ प्रतिशतले बढेको थियो।

गत आवमा घरजग्गा कारोबारबाट संकलन भएको पूँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो लाभकर २९.९८ प्रतिशतले बढेको थियो । गत आवमा घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा ६.९३ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो ।

प्रादेशिक जग्गा कारोबार

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबार संख्या सबैभन्दा धेरै ६९.३८ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा ३.४४ प्रतिशतले घटेको छ । अन्य सबै प्रदेशमा यस्तो कारोबार संख्या बढेको छ ।

गत आवमा घरजग्गाको कारोबार भएको कुल क्षेत्रफल अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बागमती प्रदेशमा सबैभन्दा धेरै ५०.२४ प्रतिशतले बढेको छ भने मधेश प्रदेशमा सबैभन्दा धेरै ६.१९ प्रतिशतले घटेको छ ।

गत आवमा सातवटै प्रदेशमा घरजग्गा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । यस अवधिमा बागमती प्रदेशमा सबैभन्दा धेरै १७५.३३ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम ३१.९८ प्रतिशतले कारोबारको कुल मूल्य बढेको छ ।

गत आवमा सातवटै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मधेश प्रदेशमा २० आना भन्दा बढीका प्लटहरूमा सबैभन्दा धेरै कारोबार भएको थियो भने अन्य सबै प्रदेशमा २.५ देखि १० आना क्षेत्रफलका प्लटहरू सबैभन्दा धेरै कारोबार भएको थियो ।

महानगरपालिका स्तरको जग्गा कारोबारको अवस्था

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा काठमाडौँ महानगरपालिकामा घरजग्गाको कुल कारोबार संख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरा महानगरपालिकामा १०८.७१ प्रतिशत, भरतपुर महानगरपालिकामा ६३.०४, बिराटनगर महानगरपालिका ४७.५९ प्रतिशत र वीरगंज महानगरपालिकामा २९.१९ प्रतिशतले बढेको छ ।

गत आवमा कारोबार भएको कुल क्षेत्रफल सबै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २०८.२२ प्रतिशत र वीरगंज महानगरपालिकामा सबैभन्दा कम १३.३१ प्रतिशत रहेको छ ।

गत आवमा घरजग्गा कारोबारको कुल मूल्य सबै महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । यस्तो वृद्धिदर काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २१७.४० प्रतिशत रहेको छ ।

उप–महानगरपालिका स्तरको घरजग्गा कारोबार

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा कलैया उप–महानगरपालिका बाहेक सबै उप– महानगरपालिकाहरूमा घरजग्गा कारोबारको संख्या बढेको छ । धनगढी उप–महानगरपालिकामा सबैभन्दा धेरै ७३.१६ प्रतिशतले बढेको छ । कलैया उप–महानगरपालिकामा भने यस्तो कारोबार संख्या स्थिर रहेकोछ ।

गत आवमा कारोबार भएको कुल क्षेत्रफल सबै उप–महानगरपालिकाहरूमा बढेको छ । हेटौंडा उप– महानगरपालिकामा सबैभन्दा धेरै १०४.१६ प्रतिशतले बढेको छ ।

त्यसैगरी गत आवमा घरजग्गा कारोबारको कुल मूल्य ११ वटै उप–महानगरपालिकाहरुमा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । हेटौंडा उप–महानगरपालिकामा सबैभन्दा धेरै १८६.८० प्रतिशतले बढेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस