
बुटवल, ३० भदौ। भारतबाट रुपन्देहीस्थित भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए । करिब १० बजे प्रहरीले छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ । घटनापछि ट्याङ्कर र एक जना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
डिपोमाथि प्रश्न
भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकबीचको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको दाबी केही निकटस्थ स्रोतले बताएका छन् ।
भलवारी डिपोले सिलको अवस्था नियमित रूपमा जाँच नगरेको तथा आयात भएर आएको पेट्रोलियम पदार्थको पर्याप्त नापजाँच नगरेको ती स्रोतको भनाइ छ ।
भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट यसअघि पनि तेल चोरीका घटना हुने गरेको थियो । पछिल्लो घटनाले पेट्रोलियम पदार्थ ढुवानी, सिल परीक्षण र डिपोमा हुने नापजाँच प्रणालीमाथि समेत प्रश्न उठाएको छ ।
