बसाइँसराइ रोक्न छथर जोरपाटीको नयाँ पहल : लैनो गाईपछि सुरक्षित आवास

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १, बिहिबार (२ घण्टा अघि)
  • ४६ पटक पढिएको
बसाइँसराइ रोक्न छथर जोरपाटीको नयाँ पहल : लैनो गाईपछि सुरक्षित आवास

काठमाडौं, १ असोज। गाउँबाट मानिसहरू सहरतिर बसाइँ सर्ने क्रम बढिरहेका बेला धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भने गाउँमा नयाँ परिवार भित्राउने र उनीहरूलाई गाउँमै टिकाउने उपाय खोजिरहेको छ ।

बसाइँसराइ गरेर आउने परिवारलाई गाउँमै बस्ने आधार तयार पार्ने उद्देश्यले गाउँपालिकाले पाँच वर्षअघि एउटा फरक कार्यक्रम सुरु गर्‍यो– दुहुना गाई वितरण । नयाँ ठाउँमा घरजम गर्न आउने परिवारलाई उत्पादनसँग जोड्ने, दूधबाट आम्दानी गर्ने वातावरण बनाउने र स्थानीय अर्थतन्त्रमा सहभागी गराउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रममार्फत पाँच वर्षमा ५० परिवारले लैनो गाई पाए ।

तर, पाँच वर्षको अनुभवपछि गाउँपालिकाले आफ्नो प्राथमिकता परिवर्तन गरेको छ । पहिले गाउँमा आउने परिवारलाई दुहुना गाई दिइन्थ्यो भने अब घर बनाइदिने तयारी हुँदैछ ।

लैनो गाई दिएर गाउँमा टिकाउने प्रयास

आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको ‘दुहुना गाई’ कार्यक्रमको उद्देश्य बसाइँसराइ गरेर आउने परिवारलाई गाउँको उत्पादन प्रणालीसँग जोड्नु थियो ।

पहिलो वर्ष नौ परिवारलाई गाई दिइयो । त्यसपछि आर्थिक वर्ष २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा चार र २०८१/८२ मा तीन परिवारले लैनो गाई पाए ।

नयाँ ठाउँमा आएको परिवारसँग एउटा लैनो गाई भए दूध उत्पादन गर्न सकिन्छ भन्ने सुरुवाती सोच थियो । किनभने दूध बेचेर आम्दानी गर्न सकिन्छ र आम्दानीको स्रोत भएपछि परिवारलाई गाउँमै बस्न पनि सहज हुन्छ ।

‘कार्यक्रमको मूल उद्देश्य केवल गाई वितरण गर्नु मात्रै होइन,’ गाउँपालिकाको पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राई भन्छन्, ‘गाउँमा नयाँ परिवार ल्याउनु, उनीहरूलाई स्थानीय अर्थतन्त्रसँग जोड्नु र कृषि तथा पशुपालनमार्फत आयआर्जनको अवसर सिर्जना गर्नु यसको उद्देश्य हो ।’

गाई वितरण कार्यक्रमले बसाइँसराइ गरेर आउने परिवारलाई तत्कालै केही उत्पादन र आम्दानीको आधार दिने प्रयास गरेको थियो ।

गाउँपालिकामा बसाइँसराइ गरेर आएको भरमा तत्कालै गाई पाइँदैनथ्यो । अन्य जिल्ला वा स्थानीय तहबाट बसाइँसराइ गरेर आएको तीन महिना पूरा भएपछि मात्रै गाई पाउने प्रक्रिया अघि बढाइन्थ्यो।

गाई लिन इच्छुक परिवारले गाउँपालिकामा निवेदन दिनुपर्थ्यो । त्यससँगै बसाइँसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने व्यवस्था थियो ।

कागजात पेस भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गर्थ्यो । परिवार वास्तवमै बसाइँसराइ गरेर आएको हो कि होइन, कहाँ बसिरहेको छ, उसको अवस्था कस्तो छ लगायतका विषय अध्ययन गरेपछि योग्य परिवारलाई मात्रै गाई वितरण गरिन्थ्यो ।

त्यसैले कार्यक्रममा रुचि राख्ने सबै परिवारले गाई पाउन भने सकेनन् । आवश्यक कागजात र प्रक्रियाका कारण केही परिवार कार्यक्रमबाट वञ्चित भएको शाखा प्रमुख राई बताउँछन् ।

छथर जोरपाटीमा बसाइँसराइ गरेर आउने परिवारमध्ये सबैभन्दा धेरै तेह्रथुमका छन् । छथर क्षेत्रसँग तेह्रथुमको भौगोलिक र सामाजिक सम्बन्ध नजिक रहेकाले पनि त्यहाँबाट बसाइँसराइ गर्ने परिवारको संख्या बढी रहेको गाउँपालिकाको भनाइ छ ।

तेह्रथुमसँगै धनकुटाकै अन्य स्थानीय तह, भोजपुर, संखुवासभा र झापाबाट समेत परिवारहरू छथर जोरपाटीमा बसाइँसराइ गरेर आएका छन् ।

पाँच वर्षपछि बदलियो सोच

गाउँमा आउने परिवारलाई उत्पादनसँग जोड्ने प्रयास गरिसकेपछि अब गाउँपालिकाले अर्को आधारलाई प्राथमिकता दिन लागेको छ– सुरक्षित आवास ।

गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार गाई वितरणबाट परिवारको आयआर्जनमा सहयोग गर्ने प्रयास गरिएको थियो। तर, नयाँ ठाउँमा बसाइँसराइ गरेर आउने परिवारका लागि दीर्घकालीन बसोबासको आधार निर्माण गर्नु अझ महत्वपूर्ण देखिएको छ ।

‘दुहुना गाई कार्यक्रम अपेक्षाअनुसार प्रभावकारी हुन सकेन,’ अध्यक्ष सुब्बा भन्छन्, ‘बसाइँसराइ गरेर आउने परिवारका लागि दीर्घकालीन बसोबासको आधार निर्माण गर्नु अझ आवश्यक देखियो । त्यसैले अब सुरक्षित आवासलाई प्राथमिकतामा राख्न लागेका हौँ ।’

छथर जोरपाटीको यो परिवर्तन केवल एउटा कार्यक्रम परिवर्तन हुनु मात्र होइन । बसाइँसराइलाई हेर्ने स्थानीय तहको दृष्टिकोणमै आएको परिवर्तन हो ।

यसअघि नयाँ परिवार गाउँमा आएपछि उनीहरूलाई स्थानीय उत्पादनमा जोडेर गाउँमै टिकाउने प्रयास भयो ।

अब भने उनीहरूलाई गाउँमै टिकाउन त्यसअघि नै आवश्यक पर्ने आधारमा ध्यान दिन खोजिएको छ । अर्थात् पहिले उत्पादन, अब बसोबास ।

पहिले हातमा दुहुना गाई दिएर परिवारको आयआर्जन बढाउने प्रयास गरियो । अब दीर्घकालीन बसोबासको आधार तयार पार्ने तयारी हुँदैछ ।

गाउँमा आउनेलाई टिकाउने चुनौती

बसाइँसराइको प्रवृत्ति रोक्नु स्थानीय तहका लागि सहज काम होइन । रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात र अन्य सुविधाका कारण मानिसहरू गाउँबाट सहरतर्फ आकर्षित भइरहेका छन् ।

यस्तो अवस्थामा बाहिरबाट परिवार ल्याउनु मात्रै पर्याप्त हुँदैन । ल्याइएका परिवारलाई गाउँमै टिकाउनु अर्को चुनौती हो । छथर जोरपाटीले यही चुनौतीलाई लक्षित गर्दै कार्यक्रम परिवर्तन गर्न खोजेको हो ।

सुरक्षित आवासको आधार पाएपछि नयाँ परिवारलाई गाउँमा स्थायी रूपमा बस्न सहज हुनेछ । त्यसपछि उनीहरूलाई कृषि, पशुपालन र अन्य स्थानीय आर्थिक गतिविधिसँग जोड्न सकिनेछ ।

यस अर्थमा ‘सुरक्षित आवास’ कार्यक्रम बसाइँसराइ रोक्ने अन्तिम उपायभन्दा पनि गाउँमा आउने परिवारलाई टिकाउने आधार तयार पार्ने प्रयासका रूपमा अघि बढाइँदैछ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस