बाढीपहिरोले विद्युत् प्रणालीमा गम्भीर असर, १,३०३ मेगावाटसम्म प्रभावित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८३ आश्विन ११, आईतबार (१४ घण्टा अघि)
  • २५ पटक पढिएको
बाढीपहिरोले विद्युत् प्रणालीमा गम्भीर असर, १,३०३ मेगावाटसम्म प्रभावित

ऊर्जा मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा ठूलो अवरोध देखिएको छ । विभिन्न लाइन, उत्पादन र लोडमा देखिएको अवरोध करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

११ असोज, काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ । बाढीका कारण प्रसारण लाइनमा फाल्ट आउनुका साथै विद्युत् उत्पादन केन्द्र र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा ठूलो अवरोध देखिएको छ । विभिन्न लाइन, उत्पादन र लोडमा देखिएको अवरोध करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

तर, यो एकै समयमा भएको विद्युत् अवरोधको परिमाण भने होइन । विभिन्न समय र स्थानमा भएका लाइन, उत्पादन तथा लोड अवरोधको कुल योग हो ।

सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा

सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको छ । कुस्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आएपछि करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ । त्यस्तै रौघाट–दाना लाइन १ र २ मा आएको अवरोधबाट करिब १५५ मेगावाट प्रभावित भएको छ ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्ति पनि प्रभावित भएको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा असर परेको छ ।

रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुस्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको छ । उक्त लाइन बिहान ९:५० बजे पुन: सञ्चालनमा आउने अपेक्षा गरिएको थियो ।

बुटवल क्षेत्रमा न्यू भारतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । उक्त लाइन बिहान ९:५१ बजे चार्ज गरिएको विवरणमा उल्लेख छ । चापर–पथलैया १३२ केभी लाइन आउट हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको छ ।

हेटौंडा क्षेत्रमा पनि बाढीले विद्युत् प्रणालीमा असर गरेको छ । माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ । कावासोती–भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी जलेपछि आपूर्तिमा समस्या आएको छ ।

सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा पनि प्रभावित

काठमाडौं उपत्यकामा भने पाटन र टेकु क्षेत्रमा छोटो समय विद्युत् अवरोध भएको छ । पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९:१० बजेसम्म र टेकुमा पनि सोही अवधिमा विद्युत् अवरोध भएको थियो ।

पाटन क्षेत्रमा पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या देखिएको विवरणमा उल्लेख छ । बाढीका कारण नियमित आपूर्तिमा समस्या आएपछि एमआरएसको आपत्कालीन आपूर्ति प्रयोग गरिएको थियो ।

विभिन्न सबस्टेसनमा लोड कटौती

बाढी तथा प्रसारण लाइनको समस्याका कारण विभिन्न सबस्टेसनमा लोड कटौतीसमेत गरिएको छ । कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९:१५ बजेसम्म २० मेगावाट र हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको छ ।

त्यस्तै सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा बिहान ६:०२ बजेदेखि करिब ५० मेगावाट, सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा बिहान ६:०१ बजेदेखि करिब ८० मेगावाट लोड कटौती गरिएको विवरणमा उल्लेख छ ।

पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय प्रभाव

विद्युत् प्रणालीमा देखिएको अवरोधको मुख्य कारण बाढीका कारण प्रसारण लाइन तथा उत्पादन केन्द्रमा आएको क्षति, लाइन फाल्ट, सबस्टेसनका उपकरणमा समस्या र त्यसपछि उत्पन्न ओभरलोड देखिएको छ ।

विशेषगरी पोखरा–बुटवल २२० केभी प्रसारण करिडोर तथा पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा उल्लेखनीय प्रभाव पारेको छ ।

क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरोध भएका क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको नेपाल प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बताए ।

उच्च प्राथमिकताका साथ काम गरिरहेको प्राधिकरणको भनाइ

विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए । क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति क्रमश: पुन:स्थापना गर्ने काम भइरहेको उनले बताए ।

प्राकृतिक विपद्का कारण विद्युत् संरचनामा क्षति पुगे पनि उपभोक्ताको विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको श्रेष्ठले बताए ।

भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सडक तथा पहुँचमार्ग खुल्नेबित्तिकै थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको काम तीव्र बनाइने श्रेष्ठले बताए ।

प्राधिकरणले विद्युत् संरचनामा क्षति पुगेका कारण केही स्थानमा आपूर्ति प्रभावित भए पनि उपलब्ध वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति निरन्तरता दिन तथा सम्भव भएसम्म छोटो समयमा नियमित आपूर्ति पुन:स्थापित गर्न सबै स्रोतसाधन परिचालन गरिएको जनाएको छ ।

विपद्को अवस्थामा संयमित रहन तथा क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार वा पोल नजिक नजान प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस