प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुलीको आरोप, गरुडाका वडाअध्यक्ष सहित दुई जना विरुद्ध ठगी मुद्दा

प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुलीको आरोप, गरुडाका वडाअध्यक्ष सहित दुई जना विरुद्ध ठगी मुद्दा

रमेश कुमार यादब
भदौं २५, रौतहट
रौतहटको गरुडा नगरपालिका–९ श्रीपुरमा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै रकम असुलेको आरोपमा जनप्रतिनिधिसहित दुई जनाविरुद्ध प्रहरीमा मुद्दा दर्ता भएको घटना सार्वजनिक भएको छ । प्रहरीका अनुसार गरुडा नगरपालिका–९ का वडा अध्यक्ष राजेश सहनी (राजु) र सोही वडाका वडा प्रत्यासी शेख हुसैनन विरुद्ध झूटो आश्वासन दिई रकम ठगी गरेको आरोपमा उजुरी परेको हो । उनीहरूले प्रहरी हिरासतमा रहेका रमजान मियालाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै उनकी श्रीमती अमना खातूनबाट एक लाख रुपैयाँ लिएको आरोप पीडित पक्षले लगाएको छ ।

पीडित अमना खातूनले पत्रकार सम्मेलन आयोजना गरी आफूहरूसँग रकम लिइएको तर रकम लिए अनुसार श्रीमानलाई हिरासतबाट छुटाउन वा मुद्दा मिलाउन कुनै पहल नभएको गुनासो गरेकी छन् । रकम फिर्ता माग्दा समेत फिर्ता नदिएको उनको भनाइ छ । पीडित पक्षका अनुसार गत शुक्रबार दिउँसो करिब ३ बजेतिर गरुडा नगरपालिका–९ श्रीपुरमा रमजान मियाको परिवारमा विवाद भएको थियो । रमजानका जेठा दाइ अली अकबर र उनका छोरा मेराज मियाबीच पारिवारिक विषयलाई लिएर समान्य विवाद भएको बताइएको छ ।घटना भएको करिब दुई घण्टापछि रमजान मिया घटनास्थलमा पुगेका थिए ।

घटनाको वास्तविकता बुझ्ने र विवादलाई सम्झाइ–बुझाइ समाधान गर्ने उद्देश्यले आफू त्यहाँ गएको रमजानकी पत्नी अमना खातूनले बताएकी छन् । त्यस क्रममा स्थानीय महिलाहरू गुजरी, हसिमा र सबिला बीच भनाभन सुरु भएको र भनाभन क्रमशः झगडामा परिणत भएको पीडित पक्षको भनाइ छ । झगडा बढेपछि घटनास्थलमा प्रहरी पुगेको थियो । अमना खातूनका अनुसार झगडा नियन्त्रण गर्ने क्रममा प्रहरीले उनका श्रीमान रमजान मियालाई धकेलेपछि उनी त्यहाँ रहेको साइकलमाथि खसेका थिए । त्यसपछि रमजानले आफूलाई किन धकेलेको भन्दै प्रहरीसँग प्रश्न गरेपछि प्रहरी र रमजानबीच केहीबेर तनातान भएको र सोही क्रममा प्रहरीको पोशाक च्यातिएको दाबी गरिएको छ । त्यसपछि प्रहरीले रमजान मियालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखेको पीडित पक्षले जनाएको छ ।

हिरासतबाट छुटाउने भन्दै रकम मागेको आरोप
रमजान पक्राउ परेपछि वडा अध्यक्ष राजेश सहनी भनिने राजु र वडा प्रत्यासी होस नरायण भनिने शेख हुसैनले आफूहरू मार्फत रमजानलाई प्रहरी हिरासतबाट छुटाउन तथा मुद्दा मिलाउन सकिने भन्दै रकम मागेको पीडित अमना खातूनको आरोप छ । पीडित पक्षका छिमेकी तथा रकम लेनदेनका साक्षी मो. तबारक मियाका अनुसार सुरुमा वडा अध्यक्ष र वडा प्रत्यासीले एक लाख ५० हजार रुपैयाँमा मुद्दा मिलाइदिने बताएका थिए ।

पछि छलफलका क्रममा एक लाख २५ हजार रुपैयाँमा काम गरिदिने सहमति भएको उनको दाबी छ । तबारकका अनुसार उक्त सहमतिपछि पीडित परिवारले एक लाख रुपैयाँ उनीहरूकै रोहबरमा दिएको थियो । बाँकी २५ हजार रुपैयाँसमेत आफूहरूले मिलाएर दिने प्रतिबद्धता वडा अध्यक्ष र वडा प्रत्यासीले गरेको उनको दाबी छ । यस्तै, पक्राउ परेका रमजान मियाका साढु भाई मोहम्मद लालबाबूले पनि पत्रकार सम्मेलनमा वडा अध्यक्ष र वडा प्रत्यासीले गरुडा नगरपालिकाको तल्लो तल्लामा आफूहरूसँग एक लाख रुपैयाँ लिएको दाबी गरेका छन् ।

‘श्रीमान् छुटेनन्, पैसा फिर्ता माग्दा पनि दिएनन्’
पीडित अमना खातूनले रकम दिएपछि पनि श्रीमान् रमजान मिया हिरासतबाट नछुटेको र आफूले पटक–पटक रकम फिर्ता माग्दा समेत फिर्ता नपाएको बताएकी छन् । उनका अनुसार आफूले दुवै जनालाई ‘श्रीमानलाई छुटाउन सक्नुहुन्न भने मेरो पैसा फिर्ता दिनुस्, अब जे गर्नुपर्छ म आफैँ गर्छु’ भन्दै आग्रह गरे पनि रकम फिर्ता नगरिएको हो । पीडित पक्षले आफूले दिएको रकममध्ये पैसा प्रहरीका डीएसपीलाई दिइसकेको भन्दै आफूलाई जानकारी गराइएको समेत दाबी गरेको छ । तर उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।

दुई जनाविरुद्ध मुद्दा दर्ता, एक पक्राउ
यता, इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकर आचार्यका अनुसार झूटो आश्वासन दिई रकम ठगी गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ। डीएसपी आचार्यका अनुसार घटनामा संलग्न रहेको आरोप लागेका दुई जनामध्ये एक जना पक्राउ परिसकेका छन् भने अर्का एक जनाको खोजी भइरहेको छ । उनले सर्वसाधारणलाई झूटो आश्वासन दिएर रकम असुल्ने, ठगी गर्ने वा कुनै पनि गैरकानुनी कार्यमा संलग्न हुने व्यक्तिविरुद्ध उजुरी परेमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने बताए ।

प्रहरीले घटनाका सम्बन्धमा रकम लेनदेन, आरोपित व्यक्तिहरूको भूमिका, पीडित पक्षले लगाएको आरोप तथा अन्य प्रमाणहरूका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ ।

वडा अध्यक्षको प्रतिक्रिया प्राप्त हुन सकेन
यस घटनामा वडा अध्यक्ष राजेश सहनी र शेख हुसैनमाथि रकम लिएको तथा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै आश्वासन दिएको आरोप लागेको छ । तर समाचार तयार पार्दासम्म उनीहरू दुवैको तर्फबाट यस विषयमा स्पष्ट प्रतिक्रिया प्राप्त हुन सकेको छैन । उनीहरूमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको छ । आरोप लाग्नु मात्र दोषी ठहर हुनु होइन । घटनाको वास्तविकता अनुसन्धान, प्रमाण संकलन तथा सम्बन्धित कानुनी प्रक्रियाबाट टुंगो लाग्नेछ ।

निष्पक्ष छानबिनको माग घटना सार्वजनिक भएपछि स्थानीयस्तरमा जनप्रतिनिधिको भूमिकामाथि समेत प्रश्न उठ्न थालेको छ । पीडित परिवारले आफूले न्याय पाउनुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएमा कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ । स्थानीयवासीले समेत जनप्रतिनिधि वा राजनीतिक पहुँच भएका व्यक्तिले आफ्नो पद, पार्टीको प्रभाव वा नेतासँगको सम्बन्ध देखाएर कानुनी प्रक्रियामा प्रभाव पार्न नहुने बताएका छन् ।

स्थानीयस्तरमा ‘पार्टीको झण्डा र नेताको पहुँच कसैलाई कानुनभन्दा माथि राख्ने आधार बन्न सक्दैन’ भन्ने आवाज उठ्न थालेको छ । उनीहरूले नेता वा राजनीतिक सम्बन्धभन्दा माथि कानुन र जनताको विश्वासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । यस्तो घटनामा आरोपित व्यक्ति जुनसुकै राजनीतिक दल वा सार्वजनिक पदसँग जोडिएको भए पनि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषी प्रमाणित भए कानुनअनुसार कारबाही हुनुपर्ने स्थानीयवासीको माग छ । साथै, निर्दोष भए आरोपबाट मुक्त हुने गरी अनुसन्धान प्रक्रिया पारदर्शी बनाउनुपर्ने आवाज पनि उठेको छ ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस