युद्धविरामको भविष्यबारे बोल्दै दियाओले थपे, ‘यो विस्तारले दुवै पक्षलाई जारी संवाद र सहकार्यलाई अगाडि बढाउन एउटा महत्वपूर्ण ‘अवसर सञ्झ्याल (विन्डो अफ अपरच्युनिटी)’ जोगाएर राखेको छ ।
अन्तर्राष्ट्रिय समुदायले निसन्देह चीन र अमेरिकाले एकअर्कालाई आधा बाटोमा भेट्ने क्रम जारी राख्ने र अन्तत: दीर्घकालीन व्यापार सम्झौता बनाउने अपेक्षा गरेको छ ।’
यद्यपि, यो रातो कार्पेट स्वागतले वासिङ्टनको आन्तरिक राजनीतिमा भने तीव्र विवाद सिर्जना गरेको छ । पूर्व सीआईए अधिकारी तथा पेन्टागन अधिकारी भइसकेकी मिसिगनकी सिनेटर एलिसन स्लटकिनले ट्रम्पको यो कदमको कडा आलोचना गरेकी छन् ।
आफ्नो असन्तुष्टि व्यक्त गर्दै सिनेटर स्लटकिनले भनिन्, ‘यो साँच्चै ठूलो कुरा हो । ट्रम्पले रातो कार्पेट ओछ्याएको र सीलाई स्वागत गर्न आफैँ अघि सरेको हेर्न साँचो अर्थमा कठिन भयो ।’
स्लटकिनले भ्रमणको केन्द्रमा आर्थिक सुरक्षा, राष्ट्रिय सुरक्षा र लोकतन्त्र हुनुपर्ने तर्क गर्दै चिनियाँ कार निर्माताहरूलाई अमेरिकामा उत्पादन गर्न अनुमति दिने कुनै पनि सम्झौताप्रति चेतावनी दिइन् । साथै, चीनमा उन्नत एआई चिप्सको ढुवानीमा कडा प्रतिबन्धहरू लगाउनुपर्ने मागसमेत उनले गरेकी छन् ।
सुरुवाती विवाद र घरेलु आलोचनाका बाबजुद दुई महिने युद्धविराम विस्तारले बजारमा सकारात्मक तरंग ल्याएको छ भने दुवै मुलुकबीच आगामी दिनमा हुने उच्चस्तरीय वार्ताका लागि बाटो खोलेको छ ।