‘या अल्लाह’ भन्दै शाही मस्जिद भत्काउन जुटे उज्जैनका स्थानीय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १३, मंगलबार (१५ घण्टा अघि)
  • ५२ पटक पढिएको
‘या अल्लाह’ भन्दै शाही मस्जिद भत्काउन जुटे उज्जैनका स्थानीय

भारत। भारतको मध्य प्रदेशस्थित उज्जैनमा सडक विस्तारका क्रममा शाही मस्जिदको प्रभावित भाग हटाउने क्रममा स्थानीय मुस्लिम समुदायका केही व्यक्ति भावुक बनेका छन् ।

सिंहस्थ २०२८ को तयारीअन्तर्गत सडक विस्तार गर्ने योजनामा मस्जिदको केही भाग पर्ने भएपछि उक्त भाग हटाउने प्रक्रिया अघि बढाइएको हो । प्रशासनले कारबाही गर्नुअघि मस्जिद कमिटीको तर्फबाट नै प्रभावित संरचना हटाउने काम सुरु गरिएको जनाइएको छ ।

मस्जिदको पर्खाल तथा त्यससँग जोडिएको जाली हटाउने क्रममा केही व्यक्ति भावुक भएर ‘या अल्लाह’ भन्दै प्रार्थना गरिरहेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्तिले आफूहरूले निर्माण गरेको धार्मिक संरचना आफ्नै हातले हटाउनुपरेको भन्दै भावुक प्रतिक्रिया दिएको देखिन्छ ।

यसअघि मस्जिदको प्रभावित भाग हटाउने विषयमा स्थानीय मुस्लिम समुदायले विरोध जनाउँदै रातभर मस्जिद परिसरमा भेला भएका थिए । सोमबार बिहान स्थिति तनावपूर्ण बनेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रहरीका अनुसार घटनामा केही प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । पथरावमा संलग्न भएको आशंकामा १० जनालाई हिरासतमा लिइएको जनाइएको छ । तीमध्ये केहीमाथि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप रहेको प्रहरीले जनाएको छ ।

उज्जैनका प्रहरी अधिकारीका अनुसार हाल मस्जिदको प्रभावित भाग हटाउने काम मस्जिद कमिटीको तर्फबाट भइरहेको छ र सुरक्षाका लागि क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा निगरानीका लागि सीसीटीभी तथा ड्रोनसमेत प्रयोग गरिएको बताइएको छ ।

सडकलाई करिब १५ मिटर चौडा बनाउने योजनाअन्तर्गत मस्जिदको प्रार्थना कक्ष, मीनार तथा अगाडिको केही भाग प्रभावित हुने बताइएको छ । मध्य प्रदेश उच्च अदालतमा परेको मुस्लिम पक्षको निवेदनसम्बन्धी विवाद पनि सोमबार टुंगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अदालतमा उज्जैन नगर निगम र निवेदक पक्षबीच सहमति भएको जानकारी गराइएपछि निवेदनहरू खारेज नभई ‘डिस्पोज’ गरिएको जनाइएको छ ।

उज्जैन प्रशासनले भने सिंहस्थ २०२८ लाई लक्षित गर्दै सडक चौडीकरण तथा अन्य विकासका काम अघि बढाइएको र धार्मिक स्थलको प्रभावित भाग समुदायका मानिसहरूले नै स्थानान्तरण गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस