
जनकपुरधाम,१५ असोज। गुठी संस्थानसँग जग्गा स्वामित्वको विवादले जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको संघीय सरकारले भौतिक पूर्वाधार निर्माणका लागि उपलब्ध गराउने भनिएको ६ करोड रुपैयाँ बजेट कार्यान्वयनमा समस्या उत्पन्न भएको बताइएको छ ।
विद्यालयसँग जग्गासम्बन्धी पुराना अभिलेख तथा निर्णयहरू रहेपनि जग्गाधनी प्रमाणपुर्जा विद्यालयको नाममा नरहेका कारण बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढ्न नसकेको विद्यालयका प्रधानाध्यापक सञ्जय झाले बताएका छन् । विद्यालयको जग्गासम्बन्धी पुराना श्रेस्ता, अभिलेख तथा निर्णयहरू सुरक्षित छन् । तर जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान नभए विद्यालयका लागि छुट्याइएको बजेट नै गुम्ने जोखिम बढेको उनको भनाई छ ।
बुधवार पत्रकारहरुसँग कुरा गर्दै प्रअ झाले ती कागजातका आधारमा विद्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानसँग पटकपटक आग्रह गरिए पनि अपेक्षित रूपमा प्रक्रिया अगाडि बढ्न नसकेको बताए । ‘विद्यालयसँग लालपुर्जा नभए पनि जग्गासम्बन्धी पुराना अभिलेख र निर्णयहरू छन् ।
त्यसैका आधारमा विद्यालयको नाममा जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन गुठी संस्थानसँग पटकपटक आग्रह गरेका छौँ, ‘प्रधानाध्यापक झाले भने, ‘तर, सम्बन्धित कार्यालयबाट आवश्यक प्रक्रिया अघि नबढ्दा समस्या यथावत् छ ।’ प्रधानाध्यापक झाका अनुसार पुराना अभिलेखमा विद्यालयलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने विषय उल्लेख गरिएको छ ।
सोही आधारमा गुठी संस्थानले मालपोत कार्यालयसँग आवश्यक पत्राचार गरेपछि आवश्यक कागजात जुटाउने र प्रक्रिया पूरा गर्ने प्रयास गर्दै आएका थिए । तर, गुठी संस्थान र मालपोत कार्यालयबीचको पत्राचार, आवश्यक कागजात तथा प्रक्रियागत विषयमा देखिएको जालझेलका कारण विद्यालयको जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुन नसक्दा बजेट नै फिर्ता हुने अवस्था श्रृजना भएको उनको भनाई छ । उनका अनुसार बजेट प्राप्त गरेका अन्य विद्यालयमा भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको छ ।
तर, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयको हकमा जग्गाको स्वामित्वसम्बन्धी कागजात नै स्पष्ट हुन नसकेपछि निर्माण सम्बन्धी टेन्डर प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ ।
विद्यालयमा हाल २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । विद्यार्थीको संख्या ठूलो भए पनि विद्यालयको भौतिक पूर्वाधार भने आवश्यकताअनुसार पर्याप्त नभएको विद्यालय प्रशासनको भनाइ छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले समेत विद्यालयको जग्गाको लालपुर्जा उपलब्ध गराउने विषयमा गुठी संस्थानको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले पुराना श्रेस्तामा उक्त जग्गाको स्वामित्व विद्यालयकै नाममा रहेको देखिए पनि गुठी संस्थानले विद्यालयको नाममा लालपुर्जा उपलब्ध गराउने प्रक्रियालाई निकास दिन नसक्नु दुःखद भएको बताए ।
