१०९ विद्यालयको शैक्षिक सुधारका लागि सरकारको ६ अर्ब लगानी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २८, बुधबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
१०९ विद्यालयको शैक्षिक सुधारका लागि सरकारको ६ अर्ब लगानी

काठमाडौँ ,२८ असोज।  सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ ।

उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइने छ ।

प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ । यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलले बताए ।

‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । विद्यालयहरूबिचको यो असमानतालाई चिर्न हामीले अहिले ठुला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने,‘आगामी दिनमा देशका सम्पूर्ण सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै यो असमानता सधैँका लागि अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’

साथै देशको भविष्य निर्माणमा अहोरात्र खट्ने सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिँदै मन्त्री पोखरेलले सामुदायिक शिक्षाको मुहार फेर्न सबैको सहकार्य र हातेमालोको आह्वान गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस