बलात्कारको आरोपमा ससुरा पक्राउ, पीडितको भिडियो सार्वजनिक गर्ने श्रीमान् पनि समातिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ११, बिहिबार (१३ मिनेट अघि)
  • १३ पटक पढिएको
बलात्कारको आरोपमा ससुरा पक्राउ, पीडितको भिडियो सार्वजनिक गर्ने श्रीमान् पनि समातिए

मोरङ,१० मंसिर। मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया किशोरी उमेरकी सुत्केरी बुहारीमाथि ससुराले जबर्जस्ती करणी गरेका छन् ।

ससुराले जबर्जस्ती करणी गर्दा प्रतिकार नगरेको भन्दै श्रीमानले आफ्नी आमासँगै राखेर श्रीमती कुटपिट गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत २९ कात्तिक राति ५५ वर्षीय ससुराले १४ वर्षीया सुत्केरी बुहारीमाथि जबर्जस्ती करणी गरेका थिए। उक्त घटनाबारे थाहा पाएपछि २३ वर्षीय श्रीमानले कोठामा आमासँगै राखेर प्रतिकार किन नगरेको भन्दै श्रीमतीलाई गालीगलौजसँगै कुटपिट गरेका थिए। उनले कुटपिटको भिडियो बनाएर आफैँ सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेका थिए।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ९ मंसिरमा ससुरालाई जबर्जस्ती करणी र श्रीमानलाई साइबर कसुरमा पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको मोरङ प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्रकुमार मिश्रले बताए।

प्रहरीका अनुसार घटनामा संलग्नहरूमाथि जबर्जस्ती करणी र विद्युतीय अपराधसम्बन्धी कसुरका साथै बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान भइरहेको छ।

पीडितको गोपनीयता कायम गर्न प्रहरीको चेतावनी

घटनाको भिडियो भाइरल भएसँगै कतिपय व्यक्ति तथा सञ्चारमाध्यमहरूले पीडितको संवेदनशीलता र गोपनीयताको ख्याल नगरी नाम, ठेगाना, फोटो तथा भिडियो सार्वजनिक गरिरहेकोप्रति प्रहरीले ध्यानाकर्षण भएको जनाएकाे छ।

‘पीडित बालबालिका तथा महिलाको पहिचान खुलाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने वा समाचार लेख्नेहरूलाई चरित्रहत्या तथा विद्युतीय कारोबार ऐन उल्लंघनको कसुरमा कानुनी कारबाही हुन्छ,’ डिएसपी मिश्रले भने, ‘पीडितको तर्फबाट उजुरी परेमा फोटो तथा भिडियो सेयर गर्ने र आपत्तिजनक सामग्री राख्नेहरूलाई समेत पक्राउ गरी कारबाही अघि बढाइनेछ।’

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधका घटनामा जिल्ला प्रहरी कार्यालय मोरङले शून्य सहनशीलताको नीति अपनाउँदै आएको डिएसपी मिश्रले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस