
सिरहा,१० मंसिर। सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । प्रहरी अनुसन्धानका क्रममा गाडी धनगढीमाई नगरपालिका–९ महुवा डाँडाका पल्टु रामको रहेको खुलेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको गाडीको नम्बर बागमती प्रदेश ०१–०२५ च ७३९६ रहेको छ।गत मंगलबार साँझ निपाने चोकमा साइकलमा सवार महरालाई उक्त गाडीले ठक्कर दिएर फरार भएको थियो ।
दुर्घटनामा महराको मृत्यु भएपछि आक्रोशित स्थानीयले फरार चालक तथा सवारीसाधनको खोजी गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए । घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।
