प्रधान मन्त्री फेरिनु राजनीतिक समस्याको समाधान होइन—विश्वराज अधिकारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ६, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
प्रधान मन्त्री फेरिनु राजनीतिक समस्याको समाधान होइन—विश्वराज अधिकारी


बैशाख ०६ गते

प्रधान मन्त्री फेरिंदैंमा देशको चौतर्फी विकास हुने भइ दिएको भए नेपाल अहिले विश्वको पहिलो धनी राष्ट्र हुने थियो। २०४७ सालदेखि अहिले (२०७७ साल) सम्ममा नेपालमा२५ ओटा प्रम फेरिएको पाइन्छ। गएको ३० वर्षमा २५ पटक प्रम फेरिएको स्थितिले नेपालमा एउटा प्रमले औसतमा आफ्नो सम्पूर्ण कार्यकालको केवल २ वर्ष मात्र पनि कार्य गर्न नपाएको मात्र देखिंदैन साथै नेपालमा प्रम नेताहरूको व्यक्तिगत स्वार्थको कारणले गर्दा छिटै छिटै फेरिएको देखिन्छ। माओवादी, एमाले, नेपाली कांग्रेस, हालको जसपाका कारण र प्रमुख रुपमा यी दलका केही नेताहरूको स्वार्थको कारण नेपालमा छिटो छिटो प्रम फेरिने प्रष्ट हुन आउँछ।

व्यक्तिगत रुपमा कुरा गर्ने हो भने गिरिजा प्र कोइराला, पुष्पकमल दहाल ऊर्फ प्रचण्ड, शेरबहारदुर देउवा, माधव नेपाल, बाबुराम भट्टराइ, झलनाथ खनाल, केपी ओली, महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो जस्ता अति महत्वाकांक्षी नेताहरूको कारणले गर्दा नेपालमा पटक पटक प्रम फेरिने गरेको हो। निर्वाचन वा राष्ट्रिय राजनीतिको आवश्यकताले होइन प्रत्येक पटक केही वा कुनै नेताको स्वार्थको कारणले गर्दा प्रम फेरिएको तथ्य अब घामझै छर्लङ्ग छ।

 प्रमको कार्यकाललाई सर्वाधिक छोटो पार्नुमा भने प्रचण्डको स्वार्थले ठूलो भूमिका खेलेको पाइन्छ। वर्तमान प्रम ओलीलाई प्रमबाट पदच्यूत गर्नमा अहिले सक्रिय रुपमा प्रचण्ड नै लागेका छन। वर्तमान प्रमलाई हटाउन उनी कहिले जसपाको ढोकामा पुग्छन। कहिले महन्थ समूहलाई त कहिले उपेन्द्र समूहलाई नया सरकार गठनका लागि अघि बढ्न उत्साहित गर्छन। यसैगरी कहिले नेपाली कांग्रेसको ढोकमा पुग्छन अनि कहिले देउवा समूह त कहिले पौडेल समूहलाई नया सरकार गठनका लागि उत्साहित गर्छन।

प्रचण्डको भूमिगत र खुला राजनीतिमा लागेको कार्यकाल, दुबैको गहन लेखा जोखा गर्ने हो भने २०४७ देखि नेपालको राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थ अनुरुप अस्थिर पार्ने र कुनै पनि प्रमलाई लामो समयसम्म कार्य गर्न नदिनेमा उनले सक्रिय तर अपारदर्शी किसिमले कार्य गरेको देखिन्छ। एमाले र माओवादी केन्द्र एउटै दल हुँदा पनि त्यसभित्र विभिन्न समूहरूको सृजना गर्नमा प्रचण्ड सक्रिय एवं निरन्तर रुपमा लागेका थिए। कुनै समयमा, माओवादी सशस्त्र संघर्षमा हुँदा, प्रचण्डका ज्यादै नजिक मानिएका अनेक नेताहरू अहिले उनीबाट छुट्टिएर टाढा मात्र भएका छैनन, प्रचण्डको नजरमा ती शत्रूमा रुपान्तरित भएका छन। प्रचण्डको स्वार्थ र सत्ता प्राप्त गर्ने उनका अनेक रणनीतिहरूले नेपालको समग्र राजनीतिलाई दिशाहीन तुल्याइ दिएको छ। यो कुनै काल्पनिक कुरा होइन। २०५२ सालदेखि प्रचण्डले गरेका अनेक राजनीति गतिविधिहरू (विध्वंस, हिंसा, हत्या, अपहरण, सरकारी बैंकलटुपाट, बम विष्फोट आदि) ले यस कुराको पुष्टि गर्छन। प्रचण्डको नेतृत्वमा भएको मओवादी सशस्त्र सङ्घ्रर्षले गर्दा, २०५२ देखि २०६३ को अवधिमा देशको अर्थतन्त्र लगभग ध्वस्तको स्थितिमा पुग्यो। देशमा रोजगारी नपाएर लाखौ नेपाली युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भए। उद्योग र व्यापारमा पछाडि परेकोले अहिलेसम्म पनि मुलकको अर्थ तन्त्र विप्रेषण (Remittance) मा भरपर्नु पर्ने स्थितिबाट बाहिर आउन सकि रहेको छैन्। देशको अर्थतन्त्र नराम्रो गरी विप्रेषणमूखि हुन पुगेको छ। यो स्थिति दीर्घकालको लागि ज्यादै हानिकारक छ।वैदेशेशिक रोजगारीले गर्दा नेपालले आफ्नो जनशक्तिको राम्रो उपयोग गर्न पाउँदैनन, साथै देशले अनेक किसिमका सामाजिक समस्याहरू पनि बेहोर्नु पर्ने हुन्छ। 

प्रचण्डले सर्व प्रथम आफ्नो घर भत्य्क्याए (साविकको माओवादी पार्टी फुटेर अनेक टुक्रा भयो वा पारे) त्यसपछि अर्काको घर (एमालेलाई टुक्र्याएर ओली र नेपाल-खनाल दल सृजना गरिदिए) भत्क्याए। जुनदिन देखि प्रचण्डले राजनीतिबाट अवकास लिन्छन वा परिस्थिले उनलाई राजनीतिबाट बाहिरिन वाध्य पार्नेछ त्यस दिनदेखि नेपालको राजनीतिमा अवश्य पनि, केही मात्रमा नै भए पनि, स्थितिरता आउने छ।

यसैगरी केही महत्वाकांक्षी नेताहरूको बहिर्गमन (दल भित्र र राष्ट्रिय चुनावमा पराजयको स्थिति) ले नेपालको राजनीतिलाई स्थिर हुन दिनमा योगदान पुर्याउने छ।

नेताहरूको व्यक्तिगत स्वार्थको कारणले प्रम फेरिने प्रचलन सदाको लागि अन्त्य हुनु पर्छ। राष्ट्रिय राजनीतिवा कुनै विशेष किसिमको परिस्थितिले माग गरेमा मात्र प्रम फेरिनु पर्छ। अन्य स्थितिहरूमा प्रम फेरिने वा प्रमले छोटो समयसम्म मात्र काम गर्न पाउने स्थिति समाप्त गर्नु पर्छ।

छोटो छोटो समयमा प्रम फेरिने स्थितिले मुलुकलाई अस्थिरताको स्थितिमा लग्छ। देशमा राजनीतिक अस्थिरता बढेर जान्छ। देशको आर्थिक विकासको गति सुस्त हुन जान्छ। त्येति मात्र होइन, विदेशी शक्तिहरूले नेपालमा आफ्नो प्रभाव सजिलै विस्तार गर्न सक्छन। साना साना कुराहरूमा पनि उनीहरूले हस्तक्षेप गर्न थाल्छन, सिरिया र यमनमा गरे जस्तो। अफगानीस्तानमा गरे जस्तो।

अफगानिस्तानको राजनीतिलाई त्यहाँका नागरिक (तालिवान)हरूले नै अस्थिर पारेका छन। परिणामस्वरुप अहिले त्यहाँ संसारका अनेका सक्तिसाली मुलुकका सेनाहरू तैनाथ छन। सरकार यतिसम्म कमजोर छ कि अफगानिस्तानका केही क्षेत्रहरूमा सरकारको नियन्त्रण  छैन। तालिवानहरुको नियन्त्र छ। अफगानिस्तान अहिले हतियार बिक्री गर्ने कम्पनीहरुको लागि ‘स्वर्ण’ भूमि हुन पुगेको छ। अफगानिस्तानमा शान्तिको स्थिति आउने अहिले कल्पना पनि गर्न सकिंदैन। अफगानिस्तानको यो स्थिति राजनीतिक अस्थिरताको कारणले गर्दा उत्पन्न भएको हो। आफगानिस्तानमा राजा जहिर शाह हुँदा सम्म पनि शान्तिनै थियो। तर रुसले अफगानिस्तानमा हस्तक्षेप गरे पछि यो देश हत्या, हिंसा र अस्थिरताको दलदलमा भास्सियो।

छोटो छोटो अवधिका लागि मात्र प्रमहरूले काम गर्न पाउने स्थिति हामीले नेपालबाट समाप्त पार्नै पर्छ। यो परिपाटी अर्थिक र राजनीति दुबै किसिमले उपयुक्त छैन। छोटो छोटो समयमा प्रम फेरिनाले मुलुकले अनावश्यक आर्थिक भार (पुरानो प्रम र मन्त्रीहरू जाने र नया आउने प्रक्रियामा हुने खर्च जस्तै अनेक किसिमका आर्थिक सुविध र भत्ताहरू-फर्निचर, सवारीका साधनहरू) बेहोर्नु पर्छ। र त्यो थप आर्थिक भारको पूर्ति या जनताले भुक्तान गरेको कर वा देशले लिएको बाह्य ऋणबाट तिर्नु पर्ने हुन्छ।

प्रम छिटो छिटो फेरिनाले प्रशासनिक कार्यहरू सुस्त भएर जान्छ। जवाहदेहीपना कम भएर जान्छ र मनोमानीमा वृद्धि हुन्छ। कुनै खास किसिमको त्रुटीका लागि सम्वन्धित व्यक्ति निर्देशक, सचिव, मन्त्री लाई जवाफदेही तुल्याउन सकिंदैन। र एक किसिमको अराजकता बढेर जान्छ। अहिले नेपालमा त्येही भइरेको छ। छिटो छिटो प्रम फेरिने प्रचलनले गर्दा प्रशासनम चुस्तता आउन सकेको छैन। ढिला सुस्ती बढेर गरएको छ। एक घण्टामा हुने काम अहिले एक दिनमा हुने स्थिति छ।

हामी कहाँ कुनै पनि व्यक्ति प्रम भएको भोलि पल्टदेखिनै उसलाई पदच्यूत गर्ने षणयन्त्र प्रारम्भ हुन्छ। यहाँ, यो लेख मार्फत ओलीलाई मात्र पूर्ण कालका लागि प्रम भएर काम गर्न दिनु पर्छ भन्न खोजिएको भने होइन। ओली मात्र होइन अन्य कुनै पनि प्रमलाई पूर्ण कार्यकाल काम गर्न दिनु पर्छ भन्ने खोजेको हो। ओलीको कुरा गर्ने हो भने कुनै समयमा उनी स्वयं नै पनि प्रम हुने दौडमा तिब्र गतिमा दौडेका थिए र कार्य गरिहरेको प्रमलाई हटाएर आफू प्रम हुन कम्मर कसेर लागेका थिए। प्रमलाई छिटो पदबाट हटाउन अनेक दाउ रच्नेमा उनी पनि पर्छन। तर अब यस्तो परिपाटिको अन्त्य गर्नु पर्छ। प्रमलाई पूर्ण कार्य काल काम गर्न दिने संस्कृतिको विकास गर्नु पर्छ। छिटो छिटो प्रम फेरिंदैमा देशको आर्थिक विकास हुँदैन बरू देशको अस्तित्व नै संकटमा पर्छ।

प्रमले नराम्रो काम गरेमा, देश र जनताको अहितको काम गरेरमा, त्यस्तो अवस्थामा निजलाई नियन्त्रणकारी तरिकाहरूको प्रयोग गरेर राम्रो काम गर्न बाध्य पार्नु पर्छ। प्रमले गरेको गलत कार्यको लागि निजलाई जिम्मेवार ठहर्याएर राम्रो कार्य गर्न नियम, कानूनद्वारा नियन्त्रित गर्नु पर्छ। तर प्रमलाई कार्य अवधिभर कार्य गर्न दिनु पर्छ।

नेताहरूले आफ्नो स्वार्थको लागि प्रम फेर्ने उनीहरूको कुटिल नीतिको जनताले अब विरोध गर्नु पर्छ। केवल केही व्यक्तिहरूको स्वार्थको लागि छिटो छिटो प्रम फेर्ने कार्यको अन्त्य हुनु पर्छ।

प्रमहरूले आफ्नो पूर्ण कार्यकाल काम गर्न पाए भने मात्र आफ्नो योजना तथा कार्यक्रमहरू सही सँग कार्यान्वयन गर्न पाउँछन। देशको र जनताको सही किसिमले सेवा गर्न पाउँछन। आज नियुक्त भएको प्रमले भोलिको दिन प्रमको रुपमा देख्न नपाउने स्थिति भएमा त्यस्तो प्रमबाट देशको विकास हुन सक्छ? यो यक्ष प्रश्नको हामीले सही जबाफ खोज्न आवश्यक छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

Friday, April 16, 2021

ताजा अपडेट

खोजी गर्नुहोस