चैते दशैं —किशुनदयाल “श्रीकृष्ण”

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ७, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
चैते दशैं —किशुनदयाल “श्रीकृष्ण”


बैशाख ०७ गते
दशैं शब्द सुन्ने बितिकै हामी नेपाली हिन्दुको मन–मस्तिष्कमा माता दुर्गाका विभिन्न स्वरुपहरु नाच्न थाल्छन् । हामी सामान्य अरु चाड–पर्वको तुलनामा दशैलाई बढी उत्साहित भएर मनाउछौं । दशैं नेपालीको महान पर्व हो ।
हिन्दु धर्ममा दशैंको महत्व बढी छ । हिन्दु ग्रन्थअनुसार एक वर्षमा जम्मा चारवटा दशैं पर्व हुन्छन् । जसमध्ये आषाढ र माघको दशैंको खासै चर्चा नपाइएकोले यसलाई गुप्त नवरात्री पनि भनिएको हो । यी दुईबाहेक चैत र आश्विनमा मान्ने दशैंको हिन्दुहरुले सबभन्दा बढी महत्व दिइएको पाइन्छ । यसमा पनि अशोजमा मान्ने दशैंलाई हामी नेपालीले एक कदम बढी मान्ने कारण हो जागिरबाट पनि एक महिनाको बढी तलब आएको हुन्छ भने किसानको घरमा असारमा गरेको खेतीबाट पनि अन्न बाली भित्रिन लागेकोले होला । तथापि पनि चैते दशैंको महत्व भने कम छैन ।
चैते दशैं ऋतुको राजा बसंतमा पर्ने भएकोले यसलाई बसंत दशै पनि भनिन्छ । योसंगै यसको विशेष महत्व यस करण पनि बढी छ कि चैते दशैंको पहिलो घटस्थापनाकै दिन माता दुर्गा भगवतिको जन्म भएकोले यसलाई नै पहिलो दशैं भनिन्छ । यसै दिनबाट हिन्दुको नया“ वर्षको पनि शुरुवात भएकोले यसको महत्व बढी छ । यो दशै पनि सम्पूर्ण हिन्दुहरू मनाउने गर्दछन् । यस दिनको लागि पनि अनेक मान्यताहरू प्रचलित छन् । दशैंको अर्को नाम नौरथा, नवरात, नवरात्री आदि भन्नुको तातपर्य यो पर्व पुरै नौ दिनसम्म मनाइन्छ । यस पालिको चैते दशैं चैत शुक्ल प्रतिपदा भनेको २०७७ चैत ३१ गते मंगलबारको दिनबाट शुरू भएको हो ।
एक प्रमुख मान्यताअनुसार चैते दशैंको पहिलो घटस्थापनाको दिनमा माता रानी भगवतीको जन्म भएको थियो र माता भगवतीले नै भनेअनुसार भगवान ब्रह्माजीले यस संसारको रचना गर्नु भएको हो । यसबाहेक पौराणिक कथाहरूअनुसार भगवान विष्णुको सातौ अवतारको रुपमा भगवान श्रीरामको जन्म पनि यसै चैते दशैमा भएको थियो । माता दुर्गालाई आदि शक्ति पनि भनिएको छ । हिन्दु धर्ममा वहा“लाई सबभन्दा प्राचीन दैवीय शक्तिको दर्जा प्राप्त छ किनकि माता दुर्गाको जन्म असत्यको नाश गर्नका लागि भएको थियो । यसकारण चैते दशैमा माताको पूजा आराधना गर्दा हामीभित्र सकारात्मक उर्जाको विकास हुने महत्वले यसलाई सम्पूर्ण हिन्दुहरुले अगाध श्रद्धा भक्तिले यो चैते दशैं मनाउने गर्दछन् ।
यस पर्वमा कतिपय भक्तहरू पहिलो घटस्थापना र महानवमीको दिनमात्र निराहार बसी व्रत गर्दछन् भने कतिपय भक्तजन पहिलो दिन घटस्थापना वा कलशस्थापनको दिनदेखि विजया दशमीको दिनसम्म अन्न नखाई फलहार मात्र गरेर व्रत गर्दछन् । नवरात्रीका नौ दिनमा के के हुन्छ ?
चैते नवरात्रीको पहिलो दिन कलश स्थापना गरिन्छ । कलश भनेको सुख–समृद्धि, वैभव, मंगल कार्यको प्रतीकको रुपमा लिइन्छ । कलश स्थापनाको दिन कुमारी कन्याहरूद्वारा खाली कलशा नजिकको नदी, पोखरा वा जलासय आदिमा गई वर्त शुरू भई समापनसम्मलाई भक्तिभावले समापन होस् भने संकलपसहितको शुद्धजल ल्याई मन्दिरमा विधिपूर्वक जौका गेडा जमिनमा राखी जमरा उमार्नका लागि राखिन्छ । यसको महत्वपूर्ण कारण यो पनि छ कि यो सृष्टिको शुरू हुदाको बखतको अन्न भने जौ नै उत्पन्न भयो । यसै कारणले कुनै पनि पूजा–प्रधानमा जौको उपयोग गरिन्छ । बसन्त ऋतुमा तयार हुने पहिलो अन्न (फसल) पनि जौ नै भएकोले माता दुर्गाको प्रसादको लागि अर्पित गरिन्छ । कलश स्थापना घर–घरमा पनि गरिन्छ ।
नवरात्रीको नौ दिन गरिने देवीका स्वरुपहरु ः
 पहिलो दिन ः यसलाई प्रतिपदा, घटस्थापना, कलश स्थापना आदि नामले चिन्हिन्छ । यस दिनमा देवीको पहिलो स्वरुप शैलपुत्रीको हुन्छ । पर्वतराज हिमालयकी पुत्री माता दुर्गाको प्रथम रुप हो । यसमा केरा भोग लगाउनु शुभ मानिन्छ ।
 दोश्रो दिन ः यो नवरात्रीको द्वितियाको दिन हो । यसमा देवीको दोश्रो स्वरुप माता ब्रह्मचारिणी जो पार्वती जीको तप गरेकी रुप हो । यनिको साधनाले सदाचार, संयम तथा सर्वत्र विजय प्राप्त हने हुदा“ चैते दशैको दोश्रो दिन गरिन्छ । यस दिनमा शुद्ध घ्यू मातालाई अर्पित गरेमा बढी फलदायी मान्छि ।
 तेश्रो दिन ः देवी दुर्गाको तेश्रो स्वरुप हो माता चन्द्रघंटा । यसको साधना र उपासनाले मानवको सबै कष्टबाट मुक्ति पाउनका लागि गरिन्छ । यस दिनको भोगमा नमकिन मक्खन चढावाबाट माता दुर्गा प्रसन्न हुने गर्छिन् ।
 चौथो दिन ः देवी दुर्गाको चौथो स्वरुप हो माता कुष्माण्डा । यसको साधनाबाट आयु वृद्धि, यश–बल बढाउनको लागि माता दुर्गाको यो चौथो स्वरुपको पूजा गरिन्छ । यस दिनमा माताको प्रसादमा मिश्री चढाउदा बढी फलदायी हुन्छ ।
 पंचम दिन ः देवीको पाचौ दिनको स्वरुप हो स्कंदमाता । माता दुर्गाको यो स्वरुपको साधनाले सुख–शान्ति एवं मोक्ष पाउनको लागि पूजा गरिन्छ । यस दिनको भोगमा खिर वा दुध अर्पित गर्दा माता दुर्गा बढी खुशी हुन्छिन् ।
 छैठौ दिन ः दुर्गा देवीको षष्ठीको दिनमा मां कात्यायनीको स्वरुपमा साधना गरिन्छ । यस दिनको साधनाले रोग, शोक, संताप हटाई अर्थ, धर्म, काम, मोक्ष दिनु हुन्छ माता कात्यायनी । यस दिनमा देवीलाई खुशी पार्न मालपुवाको भोग लगाईन्छ ।
 सातौं दिन ः यो दिनमा दुर्गा माताको कालरात्रिको स्वरुपमा साधना गरिन्छ । यस दिनको साधनाबाट अरुद्वारा गरिएको दुष्प्रयासलाई नष्ट गरी माता आफ्नो भक्तलाई रक्षा गर्छिन् । यस दिनको भोगमा मह चढाउनु राम्रो मानिन्छ ।
 आठौं दिन ः यस दिनमा माता दुर्गाको आठौं स्वरुपमा महागौरीको साधना गरिन्छ । माता दुर्गाको यस दिनको साधनाबाट समस्त कष्टलाई हटाई असंभव कार्य सिद्धि गरिदिनु हुन्छ । यस दिनमा मातालाई खुशी पार्न गुड,नारियलको भोग लगाउनु राम्रो हुन्छ ।
 नवौ दिन ः यस दिनमा माता दुर्गाको नौंमा स्वरुप माता सिद्धिदात्रीको रुपमा साधना गरिन्छ । यसबाट माता रानी अगम्यलाई सुगम बनाई दिने कार्य गर्नु हुन्छ । यस दिनको भोगमा माताको भोगमा धानको हलुवा अर्पित गरेको राम्रो हुन्छ ।
दशैं दिनमा देवी असुरहरूको संहार गरी असत्यमाथि सत्यको जित गराएकीले यो दिन विजय उत्सवको रुपमा मनाईन्छ । त्यसैले आफ्नो जीवनमा पनि असत्यमाथि सत्यको विजय होस् भनी आफ्नो घरको मान्यजन, ठूलाबडाबाट कलशको मुनि राखेको जौको जमरा र दही, अक्षता, रातो चन्दनबाट टिका लगाई आशिष थापिन्छ र आफूभन्दा सानालाई कहिल्यै पनि असत्यको बाटोमा नलाग्नु,सधैं सत्यको बाटोमा हिड्नु भनेर आशीर्वाद दिइन्छ ।
पुराणमा चैते दशैंलाई विशेष महत्व दिइएको छ । यसबाट आत्मा शुद्ध हुने भएकोले यो पर्व मुक्तिको आधार मानिएको छ । यो चैते दशैंको साधनाबाट नकरात्मक उर्जा नष्ट भई सकारात्मक उर्जाको संचार हुन्छ । यसका साथै यो पर्व ज्योतिष तथा खगोलीय दृष्टिले पनि महत्वपूर्ण छ किनकि यसैमा सूर्य मेष राशीमा प्रवेश हुन्छ । सूर्यको यो राशी परिवर्तन सबै राशीमा प्रभाव पार्दछ तथा यसै बेलामा नया“ वर्षको पंचाग गणना शुरू हुन्छ । चैते नवरात्रीको यो नौ दिन यति शुभ मानिन्छ कि यो नौ दिनमा तपाई कुनै पनि नया“ कार्य शुरू गर्न चाहनु हुन्छ भने अरू क्नै शुभ दिन खोजि रहनु पर्दैन । यो साथै एउटा मान्यता छ कि जुन व्यक्ति बिना कुनै लोभले चैते दशैमा माता दुर्गाको साधना, आराधना गर्दछ भने त्यो जन्म–मरणको बंधनबाट मुक्त भई मोक्ष प्राप्त गर्दछ ।
एक वर्षमा सूर्यको परिक्रमा कालमा चार ओटा सन्धि हुन्छ । यो ऋतुको सन्धिमा धेरैजसो शारीरिक रोगहरू उत्पन्न हुन्छ । यो चारवटा सन्धिमध्ये दुईवटा सन्धि चैत र अशोजको नवरात्रीको समयमा पर्ने भएकोले यो अवस्थामा आफ्नो शरीर र मन स्वस्थ र निर्मल राख्नको लागि जुन विशेष प्रक्रियाको पालन गरिन्छ त्यही नवरात्री हो । धेरै वर्तालुहरू यो नौ दिनसम्म व्रतमा विशेष किसिमले खान–पीन गरिन्छ । यसबाट हाम्रो शरीरमा रहेको अशुद्धिहरू बाहिर निस्कन्छ र सात्विक आहारको पालन गर्नाले हाम्रो जलवायु परिवर्तनबाट शरीरमा उत्पन्न हुने सबै विकारबाट पनि मुक्ति भई हाम्रो शरीर उत्तम विचार र सकारात्मक उर्जाबाट सिंचित हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस