राष्ट्रिय धान दिवस – किशुनदयाल “श्रीकृष्ण”

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
राष्ट्रिय धान दिवस – किशुनदयाल “श्रीकृष्ण”

आषाढ पन्ध्र विकिपिडियाका अनुसार “असार १५, नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान पछि पर्दैनन् । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाईं गर्नु असारको अर्को आकर्षण हो । असारको पहिलो सातादेखि मनसुन सुरू भएपछि असार १५ सम्म खेत ग¥हामा लाठे र रोपारहरू असारे गीतको भाकासँगै रोपाईंमा व्यस्त हुन्छन् । असार १५ सम्म लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो छ भने कोरीवाटी चिटिक्क परेर मेलामा झरेका रोपारहरू कोही ब्याडमा बीउ काट्ने, कोही पखाल्ने र कोही मेलो पैट्याउने तर्खरमा जुटेका हुन्छन् । राष्ट्रको कुल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाईंले ठूलो राख्छ । कृषि प्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाईंको ठूलो महत्त्व छ ।
सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरू हुन्छ । देशमा कुल धान खेतीको करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्र मनसुनमै भर पर्नुपर्ने स्थिति छ । त्यसैले मानो रोपेर मुरी फलाउने यो समयमा कृषकहरू आफ्ना अन्य काम छाडेर भए पनि असारे भेल छोपी धानबाली लगाउन व्यस्त हुन्छन् । असार महिनाभित्रै रोपाईं गर्न नपाइएमा धान पाक्ने सम्भावना कम हुनाले पनि रोपाईंमा व्यस्त हुनुपरेको हो । साता पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै कृषकका लागि असारको पन्ध्र महत्त्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नु पर्दछ भन्ने बुढापाकाको भनाइले पनि यसको महत्त्व दर्शाउँछ । त्यस्तै ’असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमान्दारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरि खाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्त्वलाई पुष्टि गर्छ । रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ । रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पु¥याउँदै आएको छ । कतैकतै ठूला खेती भएकाले रोपाईं गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । एक आँकडाअनुसार धान खेतीको करिब ६० प्रतिशत क्षेत्र अझै आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घैया धान लगाउन सकिन्छ, तर वर्षे धानभन्दा यसको उत्पादन भने कम हुन्छ ।
नेपालमा ८५ प्रतिशत मनसुन जुनदेखि सेप्टेम्बरसम्ममा र १० प्रतिशत हिउँदमा हुने गरेको छ । नेपालमा समुद्री सतहभन्दा ७० मीटर उचाईमा रहेको झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिंदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पहिला पहिला मार्सी, तौली, थापचिनिया, वासमती खट्टेखानी आदि जातका धानखेती गरिन्थ्यो भने हाल ताईचुङ्ग, विन्देश्वरी, खुमल, मन्सुली, राधा चार आदि विकासे जातका धान लगाइन थाएिको छ । एक आँकडाअनुसार धान खेतीको ७९ प्रतिशत क्षेत्रफल विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । धान रोपाईं गर्ने बेलामा बेर्ना नडुब्ने गरी खेतमा दुई÷तीन से.मी. पानी जम्ने गरी तयार गरिए पनि बेर्ना बढ्दै गएपछि नपसाउन्जेलसम्म पाँचदेखि १० से.मी. पानी हुनु उपयुक्त हुन्छ ।” पोहोर सालको तुलनामा यस वर्ष बर्खा अलि अगाडि नै सक्रिय भएको देखिन्छ । यो बर्खाको क्रम चैतदेखि तुलनात्मक बढी भएको देखिन्छ । यस वर्षको रबि बालीमा दलहन मसुरो भित्रिएपछि गहुलाई यस मध्यमधेशका रौतहट जिल्लामा भित्रिआउनेहरूले एक दुई पानी गहुँलाई खुआएकै हो । रबि बाली घरमा भित्रिआएपछि खाली खेतलाई जोतार्इँ गरेर खेतमा भएको घाँस–पात चैतदेखि जेठसम्म सुकाउने चलन रहेकोमा यस पालीको बर्खाको प्रवृतिले यस्तो हुन दिइएको भने छैन् । यसपालि खेतलाई राम्ररी जोत खन गर्न भने वर्षाले नदिइएको दुखेसो सुनाउछन् किसान रामबहादुर राय । मधेशको किसानसँग यसको पनि विकल्प हुन्छ । त्यो हो खेत रोपाई गर्नु चार पाँच दिन पूर्व पानीमा नै राम्ररी जोताई गरेर छोडीन्छ । जसमा खेतमा उब्जेको घाँसपात माटोमा सँडेगलेर उर्वरक मलमा परिणत हुन्छ । त्यसमा रोपाई गर्दा पनि हुन्छ । मधेशका केही मात्र ठाउँ जस्तै बारा जिल्लाको चरमन्त क्षेत्रमा अषाढ पूर्व चैतमा दुतरा भदै धान लगाउने चलन छ । यो भने अषाढको अन्तसम्मा भित्रियाई फेरी त्यसमा मौसमी धान खेती गरिन्छ । धान खेतीको उबजनीमा लाग्ने समयको अधारमा मुख्य दुई किसिमको धान हुन्छ । पहिलो हुन्छ भदै धान, जुन आषाढको पहिलो हप्तादेखि दोश्रो हप्तासम्म रोपाई गरी सकिन्छ । जसको कटाई भने असोजमा हुन्छ । यस समूहमा पर्ने धान १२५—१३५ दिनको छोटो समयमा तयार हुन्छ । यसभित्र पहिले सोटवा, गजरगौल, नखी, मुठमुड़, चैना, जिरी आदि प¥थ्यो । आजकालको विकासे हाइब्रिडमा नयाँ नयाँ जातिको धान जस्तै सरजुग बाउन्न, सोना मंसुली भदै, चन्दन कतर्नी, राधाचार, चौदह्ब्यालिस, लोकनाथ आदिका साथै आजको आधुनिक युगमा धानमा सोधखोज गर्ने नयाँ प्रयोगशालाहरूले पनि हाइब्रिड जातहरू निकालेको पाइन्छ । जसको नाम धानको बिउ उत्पादक कम्पनीको आधारमा नामाकरण गरेको पाइन्छ । दोश्रो किसिम हो सरिहन धान । जसको रोपाइँ आषाढको दोश्रो हप्तादेखि अन्तिमसम्म गरिन्छ । जसको कटाइ भने कर्तिकको दोश्रो हप्तादेखि मंसिरको पहिलो हप्तासम्म गरिन्छ । यस समूहमा पर्ने धान १४५ देखि १६० दिनसम्मको लामो समय लिन्छ । यस जातभित्र उच्चकोटिको भने बासमति पर्छ । मधेशमा यो धान रोपाईको पहिलो दिन गभलगी हुन्छ । यसको लागि कुनै खास गते तोकिएको भने हुदैन । यसको गभलगी किसान पिछे फरक दिन हुन्छ । लभगलीको दिन किसान घरका मुखियाले पहिलो गभ खेतमा गुड़, बासमतिको अरबा चामलसहित लगाइन्छ । त्यसमा खेतालाहरूले मुखियासहित एक अर्कामा हिलो छ्ेयापेर रमाइलो गर्छन् । ठाउँपिच्छे यस दिनमा खसी पाठी काटेर भोज खुवाइने चलन रहेको पनि पाइन्छ । खेतमा गएका सबै खेतालाहरू र रोपाई गर्नेको बिचमा चामल–गुड़को प्रसाद बाडिन्छ । बेलुका भने खानामा अन्य दिनको तुलनामा राम्रो खानाको परिकार भात, दाल, तरकारी, तरुवा, पकौडा, दही, चिनी खेतालाहरूलाई खुवाइन्छ । सरिहन धान समूहमा पर्ने जाती हो बासमति, सोना मंसुली, साबित्री, करर्नी, राजेन्द्र मंसुली, जया, कान्छी, गोरखनाथ आदि हुन् । यसमा पनि नयाँ हाईब्रिड जातिको धानहरू उत्पादक कम्पनीको आधारमा नयाँ नयाँ नामाकरण गरेको पाइन्छ ।
आषाढको यो समय किसानको लागि सबभब्न्दा बढी महत्वपूर्ण हुन्छ । यो समय गरेको रोपार्इँबाट वर्ष भरलाई पुग्ने खाद्यान्नको व्यवस्था गर्नु पर्ने हुन्छ । यसमा किसान आत्मनिर्भर हुन सकेको छैन् । राज्यबाट उचित सिंचाइको व्यवस्थापन गरेको पाइँदैन् । आकाशे वर्षामा भर पर्नुपर्ने हुन्छ । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ तर किसानलाई चाहिने मलखाद तथा बिउँ बिजनको कुनै उत्पादन कम्पनी नभएकोले अरू देशकोमा भर पर्नु पर्दछ । यहाँ बालीको कुनै बिमा हुँदैन् । यसमा राज्यले उचित लगानी गरिदिने हो भने हामी कृषि उत्पादन बृद्धि गरी अहिले खाद्यान्न आयात गर्नु ठाउँमा आत्मनिर्भर भई निर्यात समेत गर्न नेपाली किसान सक्षम हुने विश्वास गर्न सकिन्छ ।
कृष्णनगर, महम्मदपुर, गरूडा–५, रौतहट ।

ताजा अपडेट

खोजी गर्नुहोस