यसपटकको धान दिवस – सम्पादकीय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
यसपटकको धान दिवस – सम्पादकीय


यसपटकको धान दिवसमा तराई मधेसमा खासै उत्साह देखिएको छैन । खासै उत्साह नदेखिनुका दुई कारण छन् ः पहिलो त बीउ अझै राम्ररी तयार भइसकेको छैन अर्थात् धानको बेर्ना तयार हुने क्रममा रहेको छ भने अर्को कारण हो पर्याप्त वर्षा नहुनु । यदि दुई चार दिन पहिलेदेखि खेतमा पानी जम्ने गरी पानी परेको भए अर्लि भेराइटीको धानखेतीको धेरै अंश रोपाईँ भइसकेको हुन्थ्यो । सर्वसाधारण किसानले के बुझेका छन् भने अर्लि भेराइटीको धानखेतीको लागि गरिने रोपाइँमा प्रयोग हुने बेर्ना धेरै छिप्पिएको हुनुहुँदैन । यस अर्थमा अहिले अलि भेराइटीको धानखेतीको लागि बेर्ना ठिक्कको भइसकेको छ र कतिपय किसानहरुले वैकल्पिक माध्यमले धानखेतमा पानी पटाएर रोपाईँ गरिरहेका छन् । यसकारण केही हदसम्म भए पनि खेती भएको छ र भइरहेको छ तर जतिमात्रामा धानको रोपाईँ पूरा भइसक्नु पर्ने थियो, त्यत्ति हुन सकेको देखिएको छैन । यसकारण देशले राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ दिवस मनाइरहँदा तराई मधेसमा रोपाइँको खासै उत्साह नदेखिएको हो । आजको दिन रोपाईँ दिवसको अवसरमा पहाडमा दही चिउरा खाने दिनको रुपमा पनि लिने गरिएको पाइन्छ । अब यो संस्कृति विस्तारै तराई मधेसमा पनि सर्दै गएको छ । विभिन्न क्यालेन्डरहरुले यसको बारेमा उल्लेख गर्ने, मोबाइलमा पनि शुभकामना साटासाट हुने तथा विभिन्न सञ्चार माध्यमले यसबारे खबर प्रकाशन प्रसारण गर्ने गरेकोले असार पन्ध्रमा तराई मधेसमा पनि दही चिउरा खाने प्रचलनको विकास हुन थालेको देखिन्छ । दही चिउरा खाने दिन, रोपाईँ दिवस वा राष्ट्रिय धान दिवस गरी तीनवटैलाई राम्ररी विचार गर्ने हो भने किसानहरुसितै सम्बन्धित देखिन्छन् । नेपाली किसानहरुको लागि यो दिन निकै महत्वपूर्ण हुनुपर्ने हो तर यसको विस्तार तथा यसको महत्वको बारेमा सर्वसाधारण खेतीहर अझै पनि जानकार हुन सकेको छैन । सबै किसानलाई आजको दिनको विशेष शुभकामना ।

ताजा अपडेट

खोजी गर्नुहोस