जनैपूर्णिमा र रक्षाबन्धनको रौनकले गरुडा बजारमा चहलपहल

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २४, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
जनैपूर्णिमा र रक्षाबन्धनको रौनकले गरुडा बजारमा चहलपहल

पवन कुमार उपाध्याय

रौतहट,२३ श्रावण। जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिकिँदै गर्दा रौतहटको गरुडा बजारमा असाधारण चहलपहल देखिन थालेको छ। व्यापारीक केन्द्रका रूपमा परिचित गरुडा बजारमा अहिले जनै, धागो, राखी र मिठाई किनमेल गर्ने ग्राहकहरूको भीड बढिरहेको छ। चाडपर्वको माहोलले बजारको रौनक अझ बढाएको छ।

पर्वको पूर्वसन्ध्यामा बजारका सडकदेखि गल्लीसम्म विभिन्न डिजाइनका राखी, रंगीन धागो र पूजामा प्रयोग हुने सामग्री सजाएर राखिएका छन्। व्यापारीका अनुसार यस वर्ष नयाँ डिजाइनका राखी, चम्किला धागा र आकर्षक प्याकेजिङको माग बढी देखिएको छ। बालबालिका, युवा र वृद्ध सबै उमेरका ग्राहक दिदी–बहिनी र दाजुभाइका लागि उपहारसहितको राखी किन्न उत्साहका साथ बजार ओइरिरहेका छन्।

जनैपूर्णिमा नजिकिँदै गर्दा जनैको बिक्री पनि उच्च भएको छ। पूजापाठका लागि आवश्यक सामग्री किनमेल गर्न विभिन्न गाउँ–टोलका बासिन्दा गरुडा आइपुगेका छन्। यस अवसरमा होटल र मिठाई पसलमा पनि ग्राहकको भीड लागेको छ। रक्षाबन्धन र जनैपूर्णिमा दुवै पर्वमा मिठाईको विशेष महत्त्व हुने भएकाले पसलेहरूले पेढा, लड्डु, रसगुल्ला, गुलाबजामुनलगायतका परिकार सजाएर राखेका छन्।

होटल व्यवसायीहरूका अनुसार चाडको अवसरमा विक्रीमा सामान्य दिनको भन्दा दोब्बर वृद्धि भएको छ। “यो बेला राखी किन्ने ग्राहक मिठाई अनिवार्य रूपमा लिएर जान्छन्,” एक स्थानीय मिठाई पसलेले बताए।

जनैपूर्णिमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो जसमा पवित्र नदी वा पोखरीमा स्नान गरी जनै फेर्ने, भगवानको पूजा गर्ने परम्परा रहिआएको छ। रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र सुख–समृद्धिको कामना गर्ने चलन छ। दाजुभाइले बहिनीलाई उपहार दिने संस्कारले आपसी स्नेह र भाईचारा अझ प्रगाढ बनाउने विश्वास गरिन्छ।

व्यापारिक र सांस्कृतिक गतिविधिको संगम बन्दै गएको गरुडा बजार अहिले जनैपूर्णिमा र रक्षाबन्धनको तयारीमा रंगिएको छ। चहलपहल, मिठाईको मीठो सुगन्ध र बजारको भीडले गरुडा नगरीलाई एक विशेष उत्सवमय रूप दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस