महालेखा परीक्षकको टोलीद्वारा सरकारी कार्यालयको लेखापरीक्षण सुरु रौतहटमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण २९, बुधबार (६ महिना अघि)
  • २ पटक पढिएको
महालेखा परीक्षकको टोलीद्वारा सरकारी कार्यालयको लेखापरीक्षण सुरु रौतहटमा

रौतहट,२८ श्रावण। रौतहट जिल्लाका सरकारी कार्यालयहरूको लेखापरीक्षण कार्य महालेखा परीक्षकको कार्यालयले औपचारिक रूपमा सुरु गरेको छ ।

हिजो मंगलबार जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममार्फत लेखापरीक्षण कार्यको थालनी गरिएको हो ।

महालेखा परीक्षक कार्यालयका निर्देशक सुनिलराज खनालले जिल्लाका १८ स्थानीय तह सहित सबै प्रादेशिक र संघीय कार्यालयहरूको लेखापरीक्षण गरिने बताए ।

असोज ५ गतेभित्र कार्य सम्पन्न गर्ने लक्ष्यसहित तीनवटा टोलीले काम सुरु गरिसकेको र चाँडै चौथो टोली पनि रौतहट पुग्ने उनले जानकारी दिए । लेखापरीक्षण सुरु गर्नुअघि जिल्लाका सरकारी कार्यालयका प्रमुख र लेखा प्रमुखहरूको संयुक्त बैठक हिजो सम्पन्न भएको थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लेखापरीक्षणमा पूर्ण सहयोग गर्न निर्देशन दिए । उनले लेखापालको अभावले एकै व्यक्तिले पाँचवटा कार्यालयको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता रहेको र यसले सुशासनमा चुनौती थपिएको बताए । उनले थपे, “लेखापालहरू कार्यालयमा नियमित नबस्ने र बाहिरै बसेर काम गर्ने गुनासो गम्भीर छ ।”

कार्यक्रममा स्थानीय तहका प्रमुख, लेखा कर्मचारी, महालेखा परीक्षकको टोली र सुरक्षा निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस