
वीरगञ्ज, २९ श्रावण। नेपाल–भारत सीमाक्षेत्रमा नेपाल हुँदै भारतीय नाबालिग हिन्दु युवतीलाई तस्करी गर्ने योजनामा संलग्न तीन जना मुस्लिम युवकलाई प्रहरीले पक्राउ गरेको छ । पश्चिमी चम्पारणका मोहम्मद फरहान, मोहम्मद राजा आलम र मोहम्मद नजरे आलमलाई मानव बेचबिखन विरोधी इकाई, सशस्त्र सीमा बल, प्रयास जुभेनाइल एड सेन्टर र स्वच्छ रक्सौल एनजीओको संयुक्त कारबाहीमा मैत्री पुल नजिकैबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरूले सामाजिक सञ्जालमार्फत प्रेम–विवाहको प्रलोभन देखाई किशोरीलाई ललचाएका थिए । प्रारम्भिक अनुसन्धानमा उनीहरूले किशोरीलाई हाजीपुरबाट रक्सौल ल्याई वीरगञ्जको एक होटेलमा लुकाएर राखेको र त्यसपछि पोखरा हुँदै देहरादून पुर्याउने योजना बनाएको खुलेको छ ।
पीडितको परिवारले युवती बेपत्ता भएको उजुरी रामकृष्ण नगर प्रहरी चौकी, पटना, बिहारमा दर्ता गरेको थियो । अहिले पीडितलाई परिवारको जिम्मा लगाइएको छ भने तीनै अभियुक्तलाई पूर्वी चम्पारणको हरैया प्रहरी चौकीमा राखी अनुसन्धान भइरहेको छ ।
स्थानीय स्रोतका अनुसार यस्ता घटना सीमा क्षेत्रमा बढ्दै गएका छन् । प्रेमको नाममा युवतीलाई फसाएर धर्म परिवर्तन र मानव तस्करी गर्ने गिरोह सक्रिय रहेको र यसलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबिच समन्वय बढाउन आवश्यक रहेको बताइएको छ ।
