
काठमाडौँ, २९ श्रावण। प्रहरीले काठमाडौँ महानगरपालिका–१७ स्थित ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् ।
आरोपीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो ।
आरोपीहरू बाबुछोरा हुन् । काठमाडौँमा पर्यटक भिसामा बसेर उनीहरूले अवैध काम गर्ने गरेको बताइएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गरेर राखेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
