जंगलमा दुम्सीको शिकार गर्ने ४ शिकारी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३०, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
जंगलमा दुम्सीको शिकार गर्ने ४ शिकारी पक्राउ

सर्लाही, २९ श्रावण। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके–लक्ष्मीनियाँ जंगल क्षेत्रमा अवैध शिकार गर्दै गरेका चार जना मारेको ६ वटा दुम्सीसहित पक्राउ परेका छन्। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोषकुमार झाको नेतृत्वमा रहेको टोलीले गएराति दुई मोटरसाइकलमा माउ र बच्चा सहितका दुम्सी बोकेर लैजाँदै गरेका चार जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूसँग दुम्सी मार्न प्रयोग गरिएका कोदालो, बेल्चा, खन्ती र हँसिया पनि बरामद गरिएको वन कार्यालयले जनाएको छ। घटनास्थल महोत्तरी जिल्लातर्फ पर्ने भएकाले पक्राउ परेका व्यक्ति, बरामद दुम्सी र हतियार राति नै सब–डिभिजन वन कार्यालय लक्ष्मीनियाँ महोत्तरीमा बुझाइएको थियो। प्रारम्भिक बयानका क्रममा ती व्यक्तिहरूले दुम्सी धनुषा जिल्लाको जंगलमा मारेको बताएका थिए।

त्यसपछि महोत्तरी वन कार्यालयले घटनालाई धनुषा वन कार्यालयमा जिम्मा लगाएको हो। डिभिजन वन कार्यालय धनुषाका प्रमुख बेचन चौधरीका अनुसार थप सोधपुछपछि दुम्सी महोत्तरीकै जंगलमा मारेको तथ्य बाहिर आएको छ। त्यसैले पक्राउ परेकाहरुलाई आज पुनः महोत्तरी वन कार्यालयमै पठाउने तयारी भइरहेको छ। वन कर्मचारीका भनाइअनुसार ती व्यक्तिहरू सम्भवतः स्थानीय नट समुदायका हुन सक्छन्।

तर, यदि उनीहरू विदेशी नागरिक ठहरिए भने थप कडा कानूनी कारवाही हुने चौधरीले चेतावनी दिएका छन्। सर्लाहीको फूलजोर चोकदेखि महोत्तरीको बर्दिवाससम्मको घना जंगल क्षेत्र मानवीय आवतजावत कम हुने भएकाले यस्ता चोरी शिकारीका घटना समय समयमा हुने गरेको वन कार्यालयको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस