वीरगञ्जका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरी परीक्षणको लागि काठमाडौँ पठाइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ८, आईतबार (६ महिना अघि)
  • ३ पटक पढिएको
वीरगञ्जका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरी परीक्षणको लागि काठमाडौँ पठाइयो

वीरगन्ज, ०८ भदौ। वीरगञ्ज महानगरपालिकामा खानेपानीको पाइपमा ढलको दूषित पानी मिसिएको आशङ्कामा हैजाको प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

आशङ्काका आधारमा खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा खानेपानी विभागको टोलीले हैजा प्रभावित क्षेत्रका ११ ठाउँबाट पानीको नमुना सङ्कलन गरी काठमाडौँको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको छ ।

मन्त्री प्रदीप यादवले खानेपानीको पाइपमा दूषित पानी मिसिएर वीरगञ्जमा हैजाको प्रकोप निम्त्याएको हुनसक्ने आशङ्का व्यक्त गरे । “पानीको नमुना परीक्षणका लागि पठाइएको छ, र आज नतिजा आउने अपेक्षा छ । त्यसपछि मात्र यकिन भन्न सकिन्छ,” उनले भने ।

वीरगञ्ज महानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार, शनिवार रातिसम्म विभिन्न अस्पतालमा उपचाररत १२९ जना बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १६, १८ र २४ मा हैजाको सङ्क्रमण देखिएको छ ।

शुक्रवार राति वडा नम्बर १२ को मुर्ली टोलमा पहिलो पटक सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिवारसम्म आधा दर्जन वडामा हैजा फैलिएको सुमनचन्द्रले बताए ।

हैजाको प्रकोप समुदाय स्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले आइतबार र सोमबार दुई दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा यो कदम सङ्क्रमण नियन्त्रणका लागि चालिएको उल्लेख छ । त्यस्तै महानगरले सडक किनारमा पाइने पानीपुरी, चाट, भाजा, वडा पाओ जस्ता स्ट्रिट फुडमा पनि प्रतिबन्ध लगाएको छ ।

स्वस्ति कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षमा पहिलो पटक हैजाको प्रकोप देखिएको हो । भिब्रियो कोलरी जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्दा हैजा लाग्छ । हैजाका लक्षणमा झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानीको कमी, मांसपेशी दुख्ने र ज्वरो आउने हुन्छ । समयमै उपचार नभए मृत्युसमेत हुन सक्छ ।

हैजाको लक्षण देखिएका दुई जनाको मृत्यु भएको जयमोदले बताए । पोखरिया नगरपालिका–९ की एक महिला र वीरगञ्ज–१२ का एक पुरुषको मृत्यु भएको हो । तर, मृत्युको कारण हैजा नै हो भन्ने पुष्टि नभएको उनले प्रस्ट पारे । “२८ साउनदेखि मुर्ली क्षेत्रमा फाट्फुट्ट झाडापखालाका बिरामी देखिएका थिए । आरडीटी परीक्षणबाट हैजा पुष्टि भएपछि यो सङ्ख्या ४२ पुगेको छ । यो महामारीकै रूप हो,” जयमोदले भने ।

हैजा प्रभावित क्षेत्रमा हाल स्वास्थ्यकर्मीको टोली खटिएको छ भने पानीको नमुना परीक्षणको नतिजा प्राप्त भएपछि थप कदम चालिने अधिकारीहरूले जनाएका छन् । स्थानीयलाई शुद्ध पानी पिउन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ । वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यकर्मीहरूको विभिन्न टोली परिचालन गर्दै टोल–टोलमा पुगेर हैजा सम्बन्धी सचेतना फैलाइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस