
हेटौंडा, ०९ भदौ। मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई युवतीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१५, रातोमाटे चेकपोस्टमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा – २२, घर भई हाल हेटौंडा–१० बसपार्क बस्ने २९ वर्षीया सम्झना थिङ र सिन्धुली, दुधौली–९ घर भएकी २३ वर्षीया सोनिका क्षेत्री रहेका छन्।
पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३–०३–००१ ह १०३ नम्बरको अटोमा सवार उनीहरूको साथबाट प्रहरीले ३ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। त्यसैगरी उनीहरूले प्रयोग गर्दै आएको मोबाइल चार्जरभित्र लुकाइराखिएको २२ ग्राम २० मिलिग्राम तौलको सेतो गिलो पदार्थ समेत फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थ लागुऔषध हुन सक्ने आशंकामा परीक्षण प्रक्रिया अघि बढाइएको छ। हाल दुवै जना प्रहरी हिरासतमा रहेका छन् भने थप अनुसन्धान जारी रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
