रौतहटबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
रौतहटबाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

पवन कुमार उपाध्याय

रौतहट,१२ भदौ। रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ। सोसँगै ट्र्याक्टर चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिएको हो।

प्रहरीका अनुसार वृन्दावन–९ निवासी शैलेन्द्र राउक कुर्मीको खेतमा पार्क गरिएको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे १२ बजे चोरी भएको थियो। कुर्मीले राति खेतमा गाडी राखेर घर फर्किए पनि विहान खेतमा गएपछि ट्र्याक्टर हराएका थिए ।

चोरी भएको ट्र्याक्टर भोलिपल्टै साउन १० गते सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–११ स्थित सडक छेउको खाल्डोमा छाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर, तत्कालै ट्र्याक्टर चोर्ने व्यक्तिहरुको पहिचान हुन सकेको थिएन।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको विशेष टोलीले घटनाबारे निरन्तर अनुसन्धान गर्दै आएको थियो। करिब एक महिनापछि ट्र्याक्टर चोरीमा संलग्न दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय बिजेन्द्र दास र सोही नगरपालिकाको वडा–७ का २६ वर्षीय विनोद पण्डित रहेका छन्। उनीहरूलाई सोधपुछ गर्दा ट्र्याक्टर चोरीमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमै खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ परेका दुवैजनालाई चोरीमा संलग्न रहेको अभियोगमा म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ। यसैबीच इलाका प्रहरी कार्यालय गरुडाले गाडी चोरीका घटनामा संलग्न गिरोह सक्रिय रहेको आशंका पनि व्यक्त गरेको छ।

प्रहरी निरीक्षक यादवले चोरीका घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत संलग्नता हुन सक्ने भन्दै थप अनुसन्धान भइरहेको बताएका छन्। उनका अनुसार ट्र्याक्टर जस्तो ठूलो गाडी चोरी गरेर अर्कै जिल्लामा पुर्‍याउन एक–दुई जनाले मात्र सम्भव नभएकोले समूहगत रुपमा चोरी भएको आशंका छ।

हाल पक्राउ परेका दास र पण्डितलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतमा पेश गरी कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस