सप्तरीमा एक वर्षमै डुबेर २३ बालबालिकाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १२, बिहिबार (६ महिना अघि)
  • २ पटक पढिएको
सप्तरीमा एक वर्षमै डुबेर २३ बालबालिकाको मृत्यु

सप्तरी, १२ भदौ। आर्थिक वर्ष २०८१/८२ मा मात्रै सप्तरी जिल्लामा डुबेर २३ बालबालिकाले ज्यान गुमाएका छन्। पोखरी, इनार, खेतमा बनेका खाल्टोदेखि नदी नालासम्म पानीमा खेल्ने वा नुहाउने क्रममा उनीहरू डुबेका हुन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार मृतकमध्ये १५ जना बालक र आठ जना बालिका छन्। “अभिभावकको निगरानीबिनै साना बालबालिका पानी आसपासमा खेल्ने वा पौडी खेल्ने क्रममा दुर्घटना हुने गरेको छ,” केसीले बताए।

मानव अधिकारकर्मी तथा कोशी प्रदेश इन्सेक प्रमुख मनोहर कुमार पोखरेलले यस किसिमका घटना जथाभावी खाल्टो खनेर छाड्ने, पोखरीमा घेराबार नहुने, अभिभावक र पोखरी धनीको लापरवाही तथा पानीको उचित निकास नहुँदा हुने गरेको बताए।

“तराई–मधेशमा पोखरी, नदी नाला केवल दैनिक जीवन मात्र नभई धार्मिक, सांस्कृतिक र आयस्रोतसँग पनि गाँसिएका छन्,” उनले भने, “तर विकास निर्माणका क्रममा खाल्टो खनेर माटो छाड्ने प्रवृत्ति रोकिएन भने दुर्घटना थप बढ्ने सम्भावना छ। यसमा निजी कम्पनीदेखि जनप्रतिनिधिसम्म सबै जिम्मेवार छन्।”

उनले अभिभावकलाई साना बालबालिकालाई पानी वरिपरि एक्लै नछोड्न आग्रह गर्दै स्थानीय तहलाई जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड राख्ने, पोखरी तथा खाल्टोलाई तारजालीले घेराबार गर्ने जस्ता पहल तत्काल गर्नुपर्नेमा जोड दिए।

ताजा अपडेट

खोजी गर्नुहोस