कटहरिया नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र १३, शुक्रबार (६ महिना अघि)
  • ३ पटक पढिएको
कटहरिया नगरपालिकामा स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना

रौशन कुमार चौधरी
भदौं १२, रौतहट

कटहरिया नगरपालिकामा आकस्मिक विपद् व्यवस्थापनलाई द्रुत, प्रभावकारी र समन्वित बनाउन “स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र” Local Emergency Operation Center) स्थापना गरिएको छ । शुक्रबार एक विशेष समारोहका बीच केन्द्रको औपचारिक उद्घाटन नगर प्रमुख अजय प्रकाश जैसवाल, नगर उपप्रमुख रिता देवी यादव तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव बिमल प्रसाद बरालले संयुक्त रूपमा गरेका हुन् ।

समारोहमा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव एमेन्द्र उपाध्याय प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्र LEOC) को स्थापना कटहरिया नगरपालिकामात्र नभई सम्पूर्ण जिल्लाकै लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसको प्रभावकारी सञ्चालनका लागि नगरवासीको सहभागिता अपरिहार्य हुने उल्लेख गरे।
जिल्लामा आपतकालीन अवस्था तथा विपद् व्यवस्थापनलाई अझ सशक्त र प्रभावकारी बनाउन जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय रुपमा काम गरिरहेको छ । दैवि प्रकोप उद्धार ऐन २०३९ बाट प्रारम्भ भएको विपद् व्यवस्थापन प्रक्रिया हाल विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ अन्तर्गत अघि बढाइँदै आएको बताउनु भयो । साथै विभिन्न निर्देशिका, पूर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा जिल्लामा विपद्का समयमा राहत तथा उद्धार कार्य संचालन हुँदै आएको छ ।
विभिन्न किसिमका विपद् जस्तै बाढी, डुबान, आगलागी, भू–क्षय, महामारी, दुर्घटना लगायतका घटनामा पूर्वतयारी, प्रतिकार्य र प्रारम्भिक सूचना प्रणालीलाई व्यवस्थित बनाउन सरकारले यस केन्द्रलाई गत पाँच बर्ष अघि केन्द्र स्तरमा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गरेको थियो ।

सोहि अनुरुप बिभिन्न जिल्लाहरुमा यस केन्द्रको स्थापना गर्दै आईरहेको अवस्थामा अव प्रत्येक स्थानिय तहमा स्थापना गरिदैं छ ।
उपाध्यायले जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्लामा सञ्चालन भइरहेका आपतकालीन कार्यसञ्चालन केन्द्रहरूसँग निरन्तर सम्पर्क र समन्वय गर्दै स्थानिय केन्द्रले विपद् व्यवस्थापनमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार स्थानिय स्तरमा स्थापना हुने केन्द्रहरू प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष निर्देशन र जिल्ला विपद् व्यवस्थापन समितिको मार्गदर्शनमा सञ्चालन हुनेछन् । कार्यक्रमको अध्यक्षता गरेका नगर प्रमुख अजय प्रकाश जैसवालले कटहरिया नगरपालिकामा बारम्बार बाढी, डुबान, आगलागी र महामारी जस्ता विपद् आउने गरेका कारण यस केन्द्रको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण रहेको बताए। उनले आरडिस नेपाल संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै अघिल्ला वर्षहरूमा गाउँघरका पोखरी, नदीमा डुबानका कारण समयमै राहत तथा उद्धार नपुगेका घटनालाई स्मरण गर्दै अब केन्द्रमार्फत छिटो सहयोग पुग्ने विश्वास दिलाए।
समारोहमा केन्द्रको प्रमुखको जिम्मेवारी कौशल किशोर चौधरीलाई दिइएको छ । अधिकृत लहरेले जानकारी दिँदै चौधरीको नेतृत्वमा केन्द्रले द्रुत निर्णय लिन, सूचना संकलन गर्न तथा विपद् व्यवस्थापनमा अग्रसर हुने बताए ।

विशेषज्ञहरूको भनाइमा, केन्द्र स्थापना मात्र पर्याप्त हुँदैन । यसको दीर्घकालीन सञ्चालनका लागि दक्ष जनशक्ति, प्राविधिक उपकरण, आवश्यक तालिम, वित्तीय स्रोत र स्पष्ट कार्यविधि अपरिहार्य छ । स्थानीय तहले यस्ता केन्द्रलाई प्राथमिकतामा राख्दै पूर्वतयारी र सुदृढ संरचना विकास गर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसै क्रममा नगर प्रमुख अजय प्रकाश जैसवालले भने जिल्ला प्रशासन कार्यालयका अनुसार यो कार्यविधि गतिशील दस्तावेजका रुपमा रहेको छ, जसमा विपद् व्यवस्थापनका क्रममा प्राप्त अनुभव, सिकाइ र नयाँ चुनौतीका आधारमा समयानुकूल परिमार्जन गरिनेछ । यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न जिल्लामा क्रियाशील सरकारी, गैरसरकारी, सामुदायिक संस्था, सुरक्षासंस्था तथा सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको जनाइएको छ ।

स्थानीय तह, स्वास्थ्य संस्था, सुरक्षा निकाय, रेडक्रस लगायतका संस्थाको समन्वयमा जिल्लामा आएको विपद्को समयमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कार्य सञ्चालन हुँदै आएको छ । विपद्का बेला आवश्यक मानव स्रोत, स्रोतसाधन तथा प्राविधिक सहयोग परिचालन गर्न यस केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रका पदाधिकारीका अनुसार आगामी दिनमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन प्रविधिमैत्री सूचना प्रणाली विकास गर्ने, उद्धार टोलीलाई नियमित तालिम दिने, स्थानिय तहमा अधारभुत आपतकालिन संरचना बिस्तार गर्ने लगायतको योजनहरु अघि सारिएको नगर प्रमुख जैसवालले बताए ।

कार्यक्रममा नगरका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षाकर्मी, विभिन्न संघसंस्था, समाजसेवी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। यसरी स्थापना गरिएको स्थानिय आपतकालीन कार्यसञ्चालन केन्द्रले बाढी, भूकम्प, आगलागी, महामारी लगायत आकस्मिक घटनामा तत्काल सूचना आदान–प्रदान, निर्णय–प्रक्रिया र राहत वितरणलाई सहज बनाउने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस