
काठमाडौं, १८ भदौ। पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।
बलुचिस्तान नेशनल पार्टी (बीएपी)को र्याली सकिएलगत्तै नजिकै बम विस्फोट भएको प्रारम्भिक जानकारीमा उल्लेख छ । विस्फोटको प्रत्यक्षदर्शी जमान बलोचले आफ्नो साथीलाई पर्खिरहेको समयमा अकस्मात ठूलो आवाजसहित धुवाँ उठेको र मानिसहरू चिच्याउँदै भुइँमा ढलेको देखेको बताए ।
विस्फोट बीएपी नेता नवाब नियाज जेहरीको गाडी नजिकै भएको पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मी समेत विस्फोटमा मारिएका छन् ।
घटनापछि बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले विस्फोटलाई ‘मानवता विरोधी र कायरतापूर्ण’ कार्य भन्दै घोर निन्दा गरेका छन् । उनले आतंककारीहरूको हरेक योजनालाई असफल पारिने बताउँदै तत्काल छानबिनको आदेश दिएका छन् ।
यसअघि पनि बलुचिस्तानमा राजनीतिक गतिविधि लक्षित गरी पटक पटक विस्फोट र आक्रमण हुँदै आएको छ ।
