महोत्तरीमा विद्यालयको खाजामा छेपारो परेपछि ७० भन्दा बढी बालबालिका अस्पतालमा भर्ना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २०, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
महोत्तरीमा विद्यालयको खाजामा छेपारो परेपछि ७० भन्दा बढी बालबालिका अस्पतालमा भर्ना

वीरगञ्ज, २० भदौ। महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्‍याइएको छ । खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिकालाई अस्पताल पुर्‍याइएको हो ।

आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोकाअनुसार बिहीबार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए । त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्‍याएका हुन् ।

प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर सतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो । प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्षका उज्ज्वल झाका अनुसार बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । बालबालिकाहरू डराएकाले निगरानीका लागि अस्पतालमा राखिएको झाले बताए ।

यता, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानबिन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिए ।

उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस