बरहथवामा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालको अगाडी शव राखेर प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २०, शुक्रबार (५ महिना अघि)
  • ६ पटक पढिएको
बरहथवामा अस्पतालको लापरबाहीले बिरामीको मृत्यु, अस्पतालको अगाडी शव राखेर प्रदर्शन

सर्लाही, २० भदौ। सर्लाहीको बरहथवामा उपचाररत एक युवकको मृत्यु भएपछि मृतकका आफन्तजनले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरूले अस्पतालको मुख्य गेटमै शव राखी रातिदेखि नै प्रदर्शन गरेका हुन्।

बरहथवा नगरपालिका – ७ दुधडेरी चोकका ३८ वर्षीय प्रमोद पासवान बिहीबार बिहान पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि स्थानीय हनुमन्त अस्पताल पुगेका थिए। दैनिक ज्यालादारीमा जीवन धान्दै आएका पासवानलाई नगर अस्पतालमा लगिए पनि आवश्यक उपचार सम्भव नभएपछि हनुमन्त अस्पताल पुयाइएको थियो।

बिहीबार बिहान करिब ७ बजे अस्पतालले उनलाई भर्ना गरी उपचार थालेको थियो। तर स्वास्थ्यमा सुधारको साटो अवस्था बिग्रँदै गएपछि साँझ ७ बजेतिर अस्पतालले अन्यत्र रिफर गरेको मृतकका आफन्तको भनाइ छ। तर रिफर गरेको केही घण्टामै बाटोमै उनको ज्यान गएपछि पीडित परिवारले राति ९ बजेदेखि नै अस्पताल अगाडि शव राखी प्रदर्शन सुरु गरेका हुन्।

मृतकका दाजु सुबोध पासवानले “चिकित्सकको लापरबाहीले भाइले ज्यान गुमाउनुपर्‍यो” भन्ने आरोप लगाएका छन्। प्रमोदका घरमा १० वर्षीया छोरी र ७ वर्षका छोरा मात्र रहेका छन्। यसैबीच, अस्पतालका चिकित्सक डा. खुशनन्दन पाण्डेले भने अत्यधिक मात्रामा रक्सी सेवनका कारण उनको मृत्यु भएको दाबी गरेका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले मृतक पक्ष र अस्पताल प्रशासनबीच समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस