विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २७, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दी रुपन्देहीबाट पक्राउ

रुपन्देही, २७ भदौ। विभिन्न कारागारबाट भागेका ७ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार,कारागारमा तोडफोड र आगजनीपछि भागेका कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी युनिटले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन,नवलपरासी र केन्द्रीय कारागारबाट भागेका कैदीहरू रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

उनका अनुसार चितवन कारागारबाट भागेका भारतको हरियाणाका सवारी अंगभंग मुद्दाका कैदी २४ वर्षीय अब्बास खान,भारतको उत्तर प्रदेशका लागूऔषध मुद्दाका कैदी ४८ वर्षीय अनिल गिरी, भारतको उत्तर प्रदेशका लागूऔषध मुद्दाका कैदी ४१ वर्षीय राजपाल सिंह र भारतको उत्तर प्रदेशका सवारी ज्यान मुद्दाका कैदी ३८ वर्षीय मोनु कश्यप रहेका छन् ।

यी चारै जनालाई भारतीय एसएसबीले भारत पस्ने क्रममा पक्राउ गरेको थियो । त्यस्तै,नवलपरासी कारागारबाट भागेका रुपन्देहीको सैनामैना नगरपालिकाकी बहुविवाह मुद्दाकी कैदी ५२ वर्षीया करिश्मा राना,केन्द्रीय कारागार काठमाडौंबाट भागेका तान्जानियाका कोकिन मुद्दाका कैदी ५३ वर्षीय रामधनी सिम्बा मुवम्बाइ र तान्जानियाकै कोकिन मुद्दाका कैदी ४७ वर्षीय त्वालिब किपेभु पाशुआ रहेको कार्कीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाइएको कार्कीले बताए । आन्दोलनको क्रममा कारागारबाट फरार भएका कैदी नेपाल र भारतको सीमा हुँदै भारतमा भाग्न सक्ने भएको हुँदा सीमामा कडा निगरानी गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस