
काठमाडौँ, २८ भदौ। युटाह विश्वविद्यालयमा बुधबार कन्जर्भेटिभ कार्यकर्ता चार्ली कर्कको गोली हानी हत्या भएको घटनामा संलग्न भएको शंका गरिएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२२ वर्षीय टायलर रोबिन्सनलाई शुक्रबार सेंट जर्जबाट पक्राउ गरिएको अधिकारी र स्रोतहरूले एबीसी न्युजलाई बताएका छन्। प्रहरीले सार्वजनिक गरेका तस्विरहरू देखेपछि रोबिन्सनका बुवाले छोरालाई चिनेका थिए। सुरुमा रोबिन्सन आत्मसमर्पण गर्न तयार नभए पनि पछि बुबाको दबाबपछि विचार बदलेको अधिकारीहरूले बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनमा युटाहका गभर्नर स्पेन्सर कोक्सले रोबिन्सन पछिल्ला वर्षहरूमा राजनीतिक रूपमा बढी सक्रिय बनेको र कर्कको युटाह भ्याली विश्वविद्यालय भ्रमणबारे परिवारका सदस्यसँग छलफल गरेको जानकारी दिएका छन्।
