गरुडा नगरपालिकामा आगजनी तथा तोडफोड, करोडौंको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र २९, आईतबार (५ महिना अघि)
  • २ पटक पढिएको
गरुडा नगरपालिकामा आगजनी तथा तोडफोड, करोडौंको क्षति

रौतहट,२९ भदौ। जेनजी प्रदर्शनकारीहरुले गत भदौ २४ गते रौतहटको गरुडा नगरपालिका कार्यालयमा गरेको व्यापक तोडफोड, लुटपाट र आगजनीबाट करोडौंको क्षति भएको छ भने कार्यालयको महत्वपूर्ण कागजातहरु समेत जलेर खरानी भएको छ।

प्रदर्शनकारीहरुले गरुडा नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र प्रशासकीय अधिकृतको कार्यकक्षमा आगो लगाई सोफा, कुर्सी, टेबल लगाएतका सम्पूर्ण सामानहरू जलाइदिएका छन्

उनीहरूले मेयर र हाकिमको कोठामा आगजनी गरेपनि उपमेयर पुनम चौधरीकी कार्यकक्षमा सामान्य तोडफोड मात्र गरेको देखिएको छ। आगजनीबाट मेयर जयसवाल र हाकिम बस्ने कोठा जलेर पूर्ण रुपमा ध्वस्त भएको छ भने उपमेयर चौधरीको कोठामा सामान्य क्षति मात्र भएको हो ।प्रदर्शनकारीहरुले मेयर र हाकिमको कोठा जलाएर नष्ट गरेपनि उपमेयरको कोठा जोगाइदिएका छन् ।

आगलागीबाट नगरपलिकाको भवनमा समेत व्यापक क्षति भएको छ। आगजनीले सबभन्दा बढी मेयर र हाकिमको कार्यकक्षमा नै क्षति पुगेको छ। आगजनीले मेयर र हाकिम बस्ने कोठाको वालमा व्यापक क्षति भएको छ। स्थानीयका अनुसार उनीहरूले आगो लगाउनु अघि मेयर, हाकिम लगाएत अन्य शाखाहरूमा राखिएको कम्प्युटर, ल्याप्टप, प्रिन्टर जस्ता सामानहरू लुटेर लगेका थिए ।

लुटपाट पछि उनीहरूले आगो लगाउनु सुरु गरेका थिए । केही सामानहरु बाहिर निकालेर आगो लगाएका थिए भने बाँचेका केही सामानहरु कोठामै आगो लगाएर जलाएका थिए। अन्य शाखाहरूमा समेत उनीहरूले व्यापक तोडफोड र लुटपाट गरेका छन् ।

आगजनीबाट कार्यालय भवनमा ठूलो मात्रामा क्षति भएको पाइएको छ। प्रदर्शनकारीहरुले ढुंगामुढा गरी कार्यालयको सबै सिसा फुटाइदिएको छ भने भित्र तोडफोड गरी व्यापक क्षति पुर्याएका छन्। उनीहरूले आगजनी गरी नगरपालिकाको एक करोड भन्दा बढीको मात्र तीनवटा गाडी जलाइदिएका छन् ।

आगजनीबाट मेयर जयसवाल चढ्ने गाडी, नगर प्रहरी चढ्ने गाडी र एक ट्याक्टर जलेर पूर्ण रूपमा नष्ट भएको छ। व्यापक तोडफोड, लुटपाट र आगजनीबाट गरुडा नगरपालिका कार्यालयमा करिब तीन करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएका मेयर र हाकिम बस्ने कोठाको पुनर्निर्माण तथा मर्मत सम्भार गर्नुपर्ने देखिएको छ।

अन्य कोठाहरूको समेत वाल भत्केर क्षति भएकोले सो कोठाहरुलाई समेत मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। भवनको मर्मत सम्भार गर्न समय लाग्ने छ भने मर्मत सम्भार नगरी सेवा सुचारु नै नहुने अवस्था छ। व्यापक तोडफोड, लुटपाट र आगजनीबाट क्षतविक्षत तथा तहसनहस भएका गरुडा नगरपालिकाको सेवा हालको भवनबाट तत्काल सुरु गर्न सकिने अवस्था छैन।

राजनीतिक प्रतिशोध साध्ने नियतका साथ आफ्ना विपक्षीहरुले जेनजी आन्दोलनको फाइदा उठाउँदै पालिका कार्यालयमा आक्रमण गरेको गरुडा नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले बताएका छन्। जेनजी पुस्ताको नाममा नक्कली जेनजी बनेर अराजक व्यक्तिका केही समुहले सार्वजनिक सम्पत्ति तोडफोड, लुटपाट र आगजनी गरी करोडौंको क्षति पुर्याएको मेयर जयसवालको दाबी छ। आफूसँग प्रतिस्पर्धा गर्न नसक्ने, नगरमा विकास हेर्न नचाहने, नगरका विकास कार्यालय पटक पटक अवरोध गर्न खोज्ने केही विकास विरोधी प्रतिक्रियावादी तत्वहरूको इशारामा आफ्ना घर र पालिकामा आक्रमण गरिएको उनले बताए।

ओरिजिनल जेनजीले निजी र सार्वजनिक सम्पत्तिमा कुनै हालतमा हानि नोक्सानी पुर्याउन नसक्ने बताउँदै मेयर जयसवालले केही नक्कली जेनजीहरुले आफ्ना घरमा नगद सहित करोडौंको सामान चोरी र लुटपाट गर्नुका साथै नगरपालिका कार्यालयमा समेत आक्रमण गरी राजनीतिक प्रतिशोध साध्ने काम गरेको आरोप लगाए।

ताजा अपडेट

खोजी गर्नुहोस