जे-जी आन्दोलनमा सहिद आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • २ पटक पढिएको
जे-जी आन्दोलनमा सहिद आलमको परिवारलाई  पाँच लाख रुपैयाँ सहयोग

वीरगञ्ज, ०४ असोज। वीरगञ्ज महानगरपालिकाले जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका वीरगञ्ज–१२ का युवा असहाब आलमको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

शनिवार सम्पन्न वीरगञ्ज महानगरपालिकाको विशेष नगर सभाले आलमको परिवारलाई क्षतिपूर्ति बापत पाँच लाख रुपैयाँ दिने प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

गत मङ्गलवार काठमाडौँको गोङ्गबुमा पठाओ राइडरको रूपमा एक यात्रुलाई लैजाँदै गर्दा प्रहरीको गोली लागेर आलमको निधन भएको थियो ।

वीरगञ्ज–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीका अनुसार, आलमको पेट र छातीमा गोली लागेको थियो । मङ्गलवार बिहान १० बजेपछि सम्पर्कविहीन भएका आलमको शव काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा फेला परेको थियो ।

दुई महिनाअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका आलम विगत तीन वर्षदेखि काठमाडौँमा स्नातक अध्ययन र रोजगारीका लागि बस्दै आएका थिए । वीरगञ्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थापन सङ्कायमा कक्षा १२ उत्तीर्ण गरेका उनले पठाओ राइडरको रूपमा काम गर्दै जीविकोपार्जन गरिरहेका थिए ।

आलमको शव शुक्रवार राति काठमाडौँबाट गृह नगर वीरगञ्ज ल्याइएको थियो । शनिवार बिहान हजारौँ स्थानीयको सहभागितामा उनको शवयात्रा (जनाजा) निकालिएको थियो । मुर्ली पोखरी नजिकको कब्रस्तानमा उनको अन्त्येष्टि गरियो ।

जनाजाअघि आलमको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएर जेन-जी पुस्ताका युवा, पूर्व वडाध्यक्ष तुफान अन्सारीलगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । शवयात्रामा मुस्लिम र हिन्दु समुदायका व्यक्तिहरू ठूलो सङ्ख्यामा सहभागी भएका थिए ।

आलमको निधनले उनको परिवार, समुदाय र जेन-जी आन्दोलनमा सहभागी युवाहरूमा गहिरो शोक छाएको छ । वीरगञ्ज महानगरपालिकाको सहयोगले शहीदको परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि नगरप्रमुख राजेशमान सिंहले बिहीबार आलमको घर पुगेर उनको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस