राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयमा जेनजी समूहले गरेको तोडफोड, लुटपाट र आगजनीबाट लाखौंको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ४, शनिबार (५ महिना अघि)
  • २ पटक पढिएको
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयमा जेनजी समूहले गरेको तोडफोड, लुटपाट र आगजनीबाट लाखौंको क्षति

वर्तमानकाल सम्वाददाता

सर्लाही, ०४ असोज। सर्लाहीस्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयमा अज्ञात समूहले गरेको तोडफोड, लुटपाट र आगजनीबाट लाखौं बराबरको क्षति भएको छ। गत मंगलबार राति २३÷२४ गतेको जेनजी आन्दोलनको बहानामा केही अराजक र प्रतिक्रियावादी तत्वहरुले योजनाबद्ध तरिकाले कार्यालयमा प्रवेश गरी मूल्यवान सम्पत्ति नष्ट गरेका हुन्।

आगजनी र तोडफोडको घटनाले कृषि क्षेत्रको महत्वपूर्ण आयोजना ध्वस्त भएपछि यस क्षेत्रमा काम गर्ने किसान, प्राविधिक तथा सरोकारवालामा ठूलो निराशा छाएको छ। स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिहरुले घटनास्थलको अनुगमन गर्दा कार्यालयमा करिब ५५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

बरिष्ठ कृषि अधिकृत रामबलम साहका अनुसार कार्यालयभित्र रहेका सम्पूर्ण कार्यालय सामाग्री, अभिलेख, उपकरण र सवारीसाधन जलेर पूर्णरुपमा नष्ट भएका छन्। कार्यालयमा रहेको दुईवटा टाटा योद्धा पिकअप, एक थान यामाहा मोटरसाइकल, सोफा, दराज, कुर्सी, टेबल, एसी, पंखा लगायतका सामग्री खरानीमा परिणत भएका छन्। त्यसैगरी, कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, मोबाइल सेट लगायतका महत्त्वपूर्ण इलेक्ट्रोनिक उपकरणहरु तोडफोड र लुटपाटपछि हराएका छन्।

कार्यालयको प्रशासनिक कक्ष, लेखा शाखा र अन्य कोठाहरुमा रहेका कागजात, अभिलेख र फाइलहरु समेत आगोमा जलेर पूर्णतया नष्ट भएका छन्। यसले आगामी दिनमा कार्यालयका कामकाज सञ्चालनमा गम्भीर चुनौती खडा गरेको छ। प्रत्यक्षदर्शीहरुको भनाइ अनुसार, अराजक समूहले सुरुमा कार्यालयका ढोका फोडेर भित्र पसेका थिए र मूल्यवान सामग्रीहरु लुटपाट गरेपछि बाँकी सामानमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोको तीव्रता यति ठूलो थियो कि नियन्त्रण गर्न स्थानीयवासीले समेत जोखिम मोलेर प्रयास गरेका तर सफलता हासिल गर्न सकेनन्।

दमकल ढिलो पुग्दा कार्यालय सम्पूर्ण रुपमा जलेर नष्ट भएको हो। घटनापछि स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधिहरुले एकैपटक स्थलगत निरीक्षण गरेर क्षतिको विवरण तयार पारेका छन्। यस घटनाले कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सर्लाहीमा सञ्चालनमा रहेका विभिन्न परियोजनाहरुमा प्रत्यक्ष असर पर्ने जनाइएको छ। किसानहरुलाई वितरण गर्न तयार पारिएका कृषि उपकरण, सामग्री र अभिलेख नष्ट भएपछि सेवाग्राही प्रभावित भएका छन्। जनप्रतिनिधिहरुले यस किसिमको विध्वंसकारी गतिविधिले राज्यका सम्पत्ति मात्र नभई जनताले प्राप्त गर्नुपर्ने सेवा र सुविधामा समेत गम्भीर अवरोध पुगेको बताएका छन्।

उनीहरुले यस्ता अराजक गतिविधि रोकथाम गर्न कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। सुरक्षा निकायले दोषी पहिचान गरी पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको विस्तृत छानबिन भई दोषीलाई कानुन अनुसार कारबाही गर्ने प्रतिबद्धता स्थानीय प्रशासनले जनाएको छ। यसबीच, कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने वैकल्पिक स्थानमा अस्थायी रूपमा कार्य सञ्चालन गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ।

यस घटनाले केवल भौतिक सम्पत्तिको क्षति मात्र नभई सर्लाही जिल्लामा कृषि आधुनिकीकरणका लागि गरिएको दीर्घकालीन योजना र लक्ष्यमा समेत ठूलो आघात पुर्याएको सरोकारवालाले बताएका छन्। किसान, कर्मचारी र स्थानीयबासीले यसप्रति गहिरो दुःख, आक्रोश र असन्तुष्टि व्यक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस