बारासँग सिमाना जोडिएका घोडासहनमा पाँच विदेशी नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ५, आईतबार (५ महिना अघि)
  • ४ पटक पढिएको
बारासँग सिमाना जोडिएका घोडासहनमा पाँच विदेशी नागरिक पक्राउ

वीरगञ्ज, ०५ असोज। नेपालसँग सिमाना जोडिएको भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लाको घोडासहनमा शनिवार राति पाँच विदेशी नागरिकलाई नियन्त्रणमा लिइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले संयुक्त रूपमा गरेको कारबाहीमा चार जना सुडानी र एक जना बोलिभियाली नागरिक पक्राउ परेका हुन् ।

मोतीहारी प्रहरीले जनाएको अनुसार पक्राउ परेकाहरूको साथबाट उर्दू भाषामा लेखिएका नोट, केही पुस्तक र कागजातहरू बरामद गरिएको छ । घटनाबारे मुख्यालयलाई जानकारी दिइसकिएको र अनुसन्धान तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार शनिवार राति करिब ९ बजे सूचना प्राप्त भएपछि ७१औँ बटालियन एसएसबीका अधिकृतहरूले कारबाही थालेका थिए । सूचना अनुसार पाँच जना विदेशी नागरिक अगर्वा गाउँबाट निस्किएका थिए । तीमध्ये चार जना स्कर्पियोमा सवार थिए भने एक जना मोटरसाइकलमा बसपार्क पुगेका थिए । उनीहरूले पटना जाने “जय माता दी” नामक बसको टिकट पहिले नै काटिसकेका थिए ।

घटनाको जानकारी एसएसपीसम्म पुगेसँगै एसएसबी सहायक कमाण्डेन्ट विश्वजित तिवारीले मोतिहारीका एसपी सुवर्ण प्रभातलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले बसपार्कमा छापा मारेर चार जनालाई नियन्त्रणमा लियो भने पाँचौँ व्यक्ति केही समयपछि आफैँ घोडासहन प्रहरी चौकीमा पुगेका थिए । पक्राउ पर्नेहरू बस चढ्न बसपार्क नजिक अँध्यारोमा पर्खिरहेका बेला नियन्त्रणमा लिइएको बताइएको छ ।

एसएसबी अधिकारीहरूले उनीहरू नेपाल सीमा पार गरी भारत प्रवेश गरेको आशङ्का गरेका छन् । बरामद सामग्रीलाई आपत्तिजनक मान्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रारम्भिक अनुसन्धानमा सुडानी नागरिकहरूले आफूहरू हैदराबादमा अध्ययनरत विद्यार्थी भएको दाबी गरेका छन् । उनीहरूको उमेर ३० देखि ४४ वर्षसम्म रहेको बताइएको छ । तर, नेपाल हुँदै भारत प्रवेश गर्ने विषयमा उनीहरूले स्पष्ट जवाफ दिन नसकेको प्रहरीको भनाइ छ । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै भारतीय इन्टेलीजेन्स ब्युरोलाई समेत जानकारी दिइएको छ ।

पक्राउ पर्नेहरू सुडानी नागरिक ४४ वर्षीय अब्दुल फितह, ३८ वर्षीय रमा सिद्दीकी, २७ वर्षीय अली अब्दुल गफ्फार, ३७ वर्षीय अहमद डफआला र ३२ वर्षीय बोलिभियन नागरिक मिगुएल सोलानो रहेका छन् ।

मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार पाँचै जना हाल घोडासहन थानाको नियन्त्रणमा छन् र थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस