
हेटौंडा, ०५ असोज। जेन-जी आन्दोलनका क्रममा क्षेत्रीय कारागार भीमफेदीको पर्खाल फोडेर भागेकामध्ये आइतबारसम्म ६७ जना कैदीबन्दी आफै कारागार फर्केका छन् । आन्दोलनको क्रममा विभिन्न कारागार र बाल सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये हेटौंडामा २ सय ७५ जना पक्राउ परेका छन् ।
भीमफेदी कारागारबाट भागेका ४४० जना कैदीबन्दीमध्ये नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले मकवानपुरका विभिन्न स्थानवाट १ सय ६९ जनालाई पक्राउ गरेको छ ।भीमफेदी कारगारको ‘क’ र ख ब्लकको पर्खाल भत्काएर भदौ २५ गते राति साढे १२ बजे सबै कैदीबन्दी फरार भएका थिए । ‘फरारमध्ये १ सय ६९ जनालाई पक्राउ गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले भने ।
जेल फोडेर भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि अनुरोध गर्दै आएको छ । यो अवधिमा ६७ जना आफै फर्केको भीमफेदी कारागार प्रमुख सुवास पौडेलले बताए ।
यसैगरी हेटौंडा उपमहानगरपालिका—११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट भदौ २५ गते बिहान ७२ जना बालक भागेका थिए । तीमध्ये प्रहरीले ५९ जना नियन्त्रणमा लिएको छ भने १३ जना अझै फरार छन । गृहमा ९४ जना बिज्याइँ गरेका बालक रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार काठमाडौंस्थित केन्द्रीय कारागार, नख्खु कारागार, भरतपुर, कास्की, तनहुँलगायत जेलबाट भागेहरुलाई मकवानपुरको विभिन्न स्थानबाट प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पनि भीमफेदी कारागारका राखिएको छ । अहिले भीमफेदी कारगारमा ८ सय ७१ जना कैदीबन्दी छन् । जेल फोडेर भाग्नुअघि यहाँ १ हजार ६६ जना कैदीबन्दी थिए ।
