नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १०, शुक्रबार (५ महिना अघि)
  • २ पटक पढिएको
नारायणगढ–मुग्लिङ सडक दुईतर्फी सञ्चालनमा आयो

वीरगन्ज, १० असोज। नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा मङ्गलवार साँझ खसेको पहिरो हटाएसँगै बिहीबार रातिदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार, मङ्गलवार अपराह्न साढे ४ बजेदेखि अवरुद्ध सडक दुई दिनको अथक प्रयासपछि सफा गरी यातायात सुचारु गरिएको हो ।

पहिरो हटाउन ६ वटा उपकरण प्रयोग गरिएको र बिहीबार साँझ ६ बजेदेखि बत्तीको व्यवस्था गरी रातिको समयमा पनि सफाइ कार्यलाई तीव्रता दिइएको आचार्यले बताए ।

सडक पूर्ण रूपमा सफा भएसँगै रोकिएका सयौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडकखण्ड हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्छन् ।

यसअघि गत असोज ३ गते पनि सोही स्थानमा पहिरो खसेको थियो । पहिरोलाई ४६ घण्टाको प्रयासपछि हटाइएको थियो । तर, सडक सञ्चालन भएको केही घण्टामै पुनः ठूलो पहिरो खस्दा मङ्गलवार साँझदेखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

गत एक सातादेखि मालवाहक सवारी साधन रोकिएका थिए भने यात्रुवाहक सवारी साधनहरू सडक आंशिक रूपमा खुला भएको समयमा मात्र पार हुन सकेका थिए ।

पहिरो हटेसँगै सडक सञ्चालनमा आएपछि अवरुद्ध सवारी साधन र यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । सडक कार्यालयले सडकको नियमित अनुगमन र मर्मतलाई निरन्तरता दिई थप अवरोध हुन नदिने योजना बनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस