
वीरगञ्ज, १३ असोज। पर्साको ठोरी गाउँपालिका–५ का ७३ वर्षीय नीरबहादुर लोप्चन मृत फेला परेका छन्। पाँच दिनदेखि घर परिवारसँग सम्पर्कविहीन रहेका लोप्चन सोमबार मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ९ गतेदेखि हराइरहेका लोप्चनको शव ठोरी गाउँपालिका–५ मा पर्ने आठघरे र बागमोर्चा बीचको कल्भर्ट नजिक फेला परेको हो।
प्रहरीका अनुसार शव र घटनास्थलको अवस्था हेर्दा जङ्गली जनावरको आक्रमणका कारण मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
शवलाई पोष्टमार्टमका लागि वीरगञ्ज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
