रौतहटको गौर कारागारबाट भागेका १५६ कैदी अझै फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १३, सोमबार (५ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटको गौर कारागारबाट भागेका १५६ कैदी अझै फरार

रौतहट, १३ असोज। जेनजीको प्रदर्शनका क्रममा गौर कारागार बाट भागेका कैदी-बन्दीहरूलाई कारागार फर्कन र कानुनी कारबाहीबाट बच्न प्रहरी र कारागार प्रशासनले आग्रह गरेको छ। आइतबार रौतहट जिल्ला प्रहरी कार्यालय र गौरस्थित कारागार कार्यालयले छुट्टाछुट्टै सूचनामार्फत सार्वजनिक अपिल गरेका हुन्।

कारागार व्यवस्थापन विभाग, काठमाडौंबाट प्राप्त निर्देशनका आधारमा रौतहट प्रहरी र कारागार कार्यालयले फरार कैदी-बन्दीहरूलाई २०७६ सालको कैदी-बन्दी अपराध व्यवस्थापन ऐन र कारागार ऐन बमोजिम यही असोज २० गतेभित्रै कारागार फर्कनु पर्ने सूचित गरेका छन्। तोकेको म्यादभित्र नफर्किए कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नेत्रनाथ गिरी र कारागार कार्यालय गौरका प्रशासक मनीष झा ले विज्ञप्ति जारी गर्दै फरार कैदी-बन्दीहरूलाई आश्रय दिने, लुकाउने वा सहयोग गर्ने व्यक्तिहरूविरुद्ध पनि प्रचलित कानुनअनुसार कारबाही हुने जानकारी गराएका छन्।

यस्तै, फरार रहेका कैदी-बन्दीहरूको विवरण वा अवस्थाबारे जानकारी हुने व्यक्तिहरूलाई तत्कालै खबर गर्न परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी र व्यवसायीहरूलाई अनुरोध गरिएको छ।

रौतहट प्रहरीले तोकिएको समयभित्र कारागार फर्कने कैदी-बन्दीहरूलाई सहजतापूर्वक पुनः कारागारमा भर्ना गरिने तर फर्किन ढिलाइ गर्ने वा भागेर बस्नेहरूलाई कानुनी दायरामा ल्याइने बताएको छ।

  • १५६ जना अझै फरार

गौर कारागारमा कुल २९१ जना कैदी जेलजीवन बिताइरहेकोमा गत भदौ २४ गते उक्त आन्दोलन उग्ररूप लिएपछि ढोका फोडेर २७ जनाबाहेक सबै फरार भएका थिए।

फरारमध्ये १७ जना कैदीलाई भारतीय क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरी गौर कारागार पठाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले थप ९१ जना कैदीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

हाल गौर कारागारमा महिला र पुरुष गरी कुल १३५ जना कैदी-बन्दी रहेका छन् भने १५६ जना अझै फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रनाथ गिरीले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस